महोत्तरी । महोत्तरीका १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिका सबैभन्दा पहिलो बजेट ल्याउने पालिका बनेको छ ।महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले आर्थिक वर्ष २०८२।०८३ को लागि ४४ करोड ५० लाखको बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नगरसभाको १५औँ खुला सत्रमा प्रस्तुत बजेटमा संघीय सरकारबाट २८ करोड १० लाख, प्रदेश सरकारबाट १ करोड २६ लाख, राजस्व बाँडफाँडबाट १० करोड ५ लाख र आन्तरिक स्रोतबाट ५ करोड ९० लाख समावेश छ ।नीति तथा कार्यक्रममा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकासका लागि मटिहानी मठलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास, पोखरी र धार्मिक स्थलहरूको सौन्दर्यीकरण, र पर्यटन प्रबद्र्धनका लागि १० दिनको काज सुविधा व्यवस्था गरिने उल्लेख छ ।शिक्षामा मैथिली भाषालाई प्राथमिकता दिँदै कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा सय अंकको मैथिली विषय राखिने, छात्रालाई साइकल, जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति, ल्यापटप वितरण र ‘फ्री बुक एन्ड ब्याग डे’जस्ता कार्यक्रम समावेश छन् । स्वास्थ्यतर्फ बर्थिङ सेन्टरबाट जनकपुरसम्म निःशुल्क एम्बुलेन्स, निःशुल्क अल्ट्रासाउन्ड, र आयुर्वेद तथा पारम्परिक चिकित्सा प्रवद्र्धन गरिनेछ ।साथै, समावेशीकरण, गरिबी निवारण, पूर्वाधार, खेलकुद, वातावरण तथा विपद् व्यवस्थापन, सञ्चार, सहरी विकास, सुशासन लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिने मेयर मण्डलले जानकारी गराए ।
प्रतिक्रिया