काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरीबृत्तलाई १० थान ‘ब्यारिकेड’ हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार दरबारमार्गमा आयोजित एक कार्यक्रममा वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन् । गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी वृत्तमा पनि क्षति पुगेको थियो । कार्यक्रममा अध्यक्ष डा.केसीले आन्दोलनका क्रममा भएको क्षतिलाई पूर्ण रूपमा पूर्ति गर्न नसके पनि केही हदसम्म सहयोग होस् भन्ने हेतुले ‘ब्यारिकेड’ प्रदान गरिएको उल्लेख गरे ।
उनले भने, ‘भदौ २३ र २४ गतेको जुन अकल्पनीय घटना थियो । त्यो घटनापछि देशमा शान्ति सुरक्षा कायम गर्ने विषयमा धेरै चासो पनि थियो । तर यति छिटो समयमा देशमा अमन चयन र शान्ति सुरक्षा कायम भयो । यसमा मुख्य भूमिका प्रहरी निकायकै थियो । प्रहरीहरुको आफ्नै कार्यालयहरु जलेको अवस्थामा आफ्नै ज्यान पनि खतरामा भएको अवस्थामा थियो । हामीले प्रहरीको मनोबल उकास्नको लागि केही गर्नुपर्ने हुन्छ । यसको लागि आज हामीले ‘ब्यारिकेड’ हस्तान्तरणको काम गरेका छौ ।’
उनले यसअघि पनि महानगरीय प्रहरी वृत्त रानीपोखरीमा फर्निचर सहयोग गर्नुका साथै उपत्यका ट्राफिक प्रहरी कन्ट्रोल रुम राम शाह पथमा अत्याधुनिक उपकरणहरू सहयोग गरेको स्मरण गराउँदै एनआरएनएले सामाजिक कार्यमा जहिले पनि नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको बताए ।
कार्यक्रममा प्रहरी वृत्त प्रमुख डिएसपी डाँगीले शान्ति सुव्यवस्था कायम गर्नका लागि एनआरएनएको सहयोग महत्त्वपूर्ण हुने भन्दै आभार व्यक्त गरे । एनआरएनएले वृत्तलाई ३ लाख मूल्य बराबरको १० थान ब्यारिकेड हस्तान्तरण गरेको हो । कार्यक्रममा एनआरएनए महिला संयोजक रश्मि थापा, पूर्व युवा उपाध्यक्ष अब्दुल बसिद्, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत वरिष्ठ अधिकृत कुनाल मिश्र र सहायक अधिकृत निरन महर्जनको उपस्थिति रहेको थियो ।