images

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले लिए शपथ, ६ मन्त्री नियुक्त

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापा मगरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहणलगत्तै मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारलाई पूर्णता दिने क्रममा आफ्नै दल नेकपा (एमाले), सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गरी ६ जना मन्त्री नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्रीहरूमा एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ रहेका छन्। त्यस्तै, नेकपाबाट सरल सहयात्री तथा राप्रपाबाट गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्री नियुक्त भएका छन्। 
नवनियुक्त मन्त्रीमध्ये भरतबहादुर केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। राप्रपाका राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय तथा राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्री थापा मगरले सत्ता साझेदार दलहरूलाई समेट्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। प्रदेश सरकारको आगामी कार्यदिशा र प्राथमिकताका विषयमा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले आफ्नो जिम्मेवारीअनुसार काम अघि बढाउने अपेक्षा गरिएको छ।

बिहीबार ४ भदौ २०८३ ०६:५१ PM मा प्रकाशित

प्रतिक्रिया