images

वीरगञ्जको औद्योगिक क्षेत्रमा एक खर्बको लगानी भित्राउने योजना छ स् अनिल रुंगटा

वीरगञ्ज । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका अनिल रुंगटाले वीरगञ्जको औद्योगिक क्षेत्रमा एक खर्बको लगानी भित्राउने योजना बनाएको बताएका छन् ।फागुन २१ गते हुन गइरहेको निर्वाचनका सन्दर्भमा भएको कुराकानीका क्रममा उद्योगी रुंगटाले आफू निर्वाचित भए नेपालको वर्तमान औद्योगिक नीति परिवर्तन गर्न लागि पर्ने पनि बताए ।उनले भने, ‘मेरो केही योजना छ । केही आफ्ना कुराहरू पनि छन् । अहिले सबैभन्दा ठूलो समस्या हाम्रो औद्योगिक नीतिमा छ । अहिलेको आर्थिक नीति औद्योगिकमैत्री छैन । नीतिमा परिवर्तन गर्न सक्यौँ भने अर्थतन्त्र चलायमान पनि हुन्छ। उद्योगमा लगानी पनि हुन्छ ।रोजगारीको अवस्था पनि बढ्छ । मेरो कार्यकालमा एक खर्बको लगानी वीरगञ्जमा उद्योगको क्षेत्रमा गराउने मेरो योजना छ ।’उनले औद्योगिक नीति परिवर्तन गर्न सकिए देशभित्र हजारौँले रोजगारी पाउने अवस्था बन्ने र देशको उत्पादनको निर्यात पनि बढ्ने बताए । ‘औद्योगिक नीतिमा सुधार गर्न सकियो भने यहाँको अर्थतन्त्र राम्रो हुन्छ भने निर्यातमा हामी बलियो बन्दै जान्छौँ । जसले हाम्रो अर्थतन्त्रको अवस्थालाई बदल्छ, सबल बनाउँछ। म आफू निर्वाचितभएपछि गर्ने पहिलो काम भनेको यही हो। औद्योगिक मैत्री आर्थिक नीति लिएर आयौँ भने यहाँ उत्पादन गरेका वस्तुलाई निर्यात गर्न सकिन्छ। त्यो अवस्थामा यहाँका भएका उद्योगहरु पनि राम्रोसँग चल्छन् र थप लगानी पनि बढ्छ’ रुंगटाले भने ।कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा संविधान सभा सदस्यसमेत रहेका रुंगटाले जेनजी आन्दोलनपछि नेपाली जनताले देशमा परिवर्तन चाहेको र त्यो परिवर्तन कांग्रेसले शुरूआत गरिसकेको बताए ।उनले अगाडि भने, ‘जेन९जी आन्दोलनपछि नेपाली जनताले देशमा परिवर्तन चाहेका छन्, रुपान्तरण खोजेका छन्, सुशासन खोजेका छन्, त्यो परिवर्तनका लागि कांग्रेसले आफैँबाट शुरूआत गरिसकेको छ, कांग्रेसले नेतृत्वपरिवर्तन गर्दै अब देश परिवर्तन गर्ने उद्घोष गरेर हिँडेको छ।’उनले वीरगञ्ज पहिलेको आर्थिक वैभव भएको, सामाजिक र राजनीतिक वैभवको सहर रहेको तर आज कहीँ न कहीं यी कुराहरू लोप भएको अवस्था रहेको बताए । वीरगञ्जका जनताले परिवर्तन, विकास र सद्भाव चाहेको भन्दै उनले पछिल्लो समयमा जनप्रतिनिधिहरुमा त्यो भावना नदेखिएको उनको भनाइ छ।आफू जनताको भावनालाई नै बोकेर उम्मेदवार बनेको दाबी गर्दै उनले आफूमाथि पर्सा १ का मतदाताको विश्वास देखिएको बताए । ‘म पनि त्यो आशा र भरोसालाई कायम राखेर निर्वाचनको मैदानमा छु’उनले सुनाए ।उनले नेपाली कांग्रेसले प्रतिज्ञा पत्रमा १० ओटा विषयलाई प्राथमिकता दिएको बताउँदै वीरगञ्जका जनताले पनि सुशासन खोजिरहेको र बेरोजगारीको अवस्थाले जनता आजित रहेको बताए ।उनले वीरगञ्ज आर्थिक सहर भएकाले आर्थिक चलायमानमा कमी हुन दिन नहुने तथा वीरगञ्जका जनताले आर्थिक चलायमानता पनि खोजेको बताए ।‘यी विषयसँगै विकास पनि जनताको चाहना हो। तर मुख्य कुरा सुशासन, बेरोजगारी समस्याको समाधान र आर्थिक चलायमानताको अवस्था भयो भने विकास हुन्छ। शिक्षा, स्वास्थ्य, खानेपानी, नालाको समस्या पनि यहाँ छ। यी कुरामा केन्द्रित भएर काम गर्नै पर्नेछ,’ उनले स्थानीय समस्या सुनाउँदै भने ।रुंगटाले वीरगञ्जमा खानेपानीको समस्याको समाधान दीर्घकालीन रूपमा नै गर्नु पर्नेमा पनि आफूले जोड दिएको सुनाए । ‘हरेक वर्ष बोरिङ खनेर समाधान हुँदैन । ठोस योजना लिएर यो समस्याको अन्त्य नै गर्नु पर्नेछ । त्यसका लागि म योजनासहित अघि बढेको छु । पछिल्लो समय हैजाको कुरा आयो, गलत ठाउँमा बोरिङ हुँदा हैजा फैलिएको हो । त्यस्तो दुर्घटना अब नहोस् भनेर म आफ्नो भूमिका देखाउँछु । हामीले हाम्रा भौतिक संरचनाको निर्माणकार्यमा पनि सुधार गर्नुपर्ने छ। कंक्रिटको प्रयोगलाई कम गरेर अन्य उपाय अपनाएर काम गर्दा पनि खानेपानीको समस्यालाई समाधान गर्न सकिन्छ,’ उनले भने ।
उनले देशमा भ्रष्टाचारको अन्त्य र रोजगारीको अवस्था सिर्जना गर्दै सुशासन प्रतिको जनताको आवाजका लागि विशेष महाधिवेशन पश्चात् कांग्रेस आफू बदलिएर, देश बदल्ने प्रतिज्ञा गरेर आएको जनताले अब विश्वास गर्नु पर्ने बताए ।
उनले अहिले कांग्रेस छाडेर गएकाहरू धमाधम फर्किरहेको र अन्य पार्टीबाट पनि प्रभावशाली ब्यक्तिहरु कांग्रेसमा आउनेको लहर चलेको बताए । ‘जेनजी युवाहरूको पनि कांग्रेसप्रति आशा र भरोसा जागेको छ। कांग्रेसको नयाँ नेतृत्वप्रति यसले भरोसा र आकर्षण बढेको देखाएको छ। नेतृत्व नयाँ र सबल छ। जनताले पनि रूपान्तरण खोजेको अवस्थामा अब हिजोका दिनमा कांग्रेस छाडेर बाहिर पुगेकाहरू सबैलाई आफ्नै घर फर्कन आग्रह गर्छु र कांग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्दै देशलाई सबल र सक्षम नेतृत्व दिन सबै मतदाताहरुमा पनि आग्रह गर्छु’ रुंगटाले भने ।

मङ्गलबार १२ फागुन २०८२ १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया