काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अहिले ब्याजदर न्यून रहेकाले यो लगानीका लागि उपयुक्त समय भएको बताएकी छिन् । आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक इमान डायलगमा ढुंगानाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको समेत बताइन् ।
उनले भने,‘अहिले हाम्रो अर्थतन्त्रमा सुधारको संकेतहरु देखिएका छन् । अहिले ब्याजदर पनि न्यून छ । ब्याजदर न्यून रहेको समयमा अहिले लगानीका लागि उपयुक्त समय पनि हो । ’ बजेटले दिएको प्राथमिकताका आधारमा नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति जारी गरेकाले त्यसको सदुपयोग गरेको अघि बढ्न उनले सरोकारलाई सुुझाव दिइन् ।
राष्ट्र बैंकले लिएका कतिपय नीति अल्पकालका लागि हुने र दिगो बैंकिङतर्फ पनि राष्ट्र बैंक सोच्ने भएकाले हालका नीतिबाट लाभ लिनुपर्ने उनले स्पष्ट पारिन् ।
यस्तै अर्थशास्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बैंकिङ फ्युचरका कुरा गर्दा पाँचवटा विषयलाई ध्यान दिनुपर्ने बताए ।
संस्थागत सुशासन, कर्पोरेट कल्चर, कार्यक्रम (स्किम), प्रविधि र राष्ट्रिय अर्थतन्त्रसँग बैंकिङ क्षेत्रलाई कसरी जोड्ने जस्ता विषयमा बहस गर्नुपर्ने उनले स्पष्ट पारे ।
थापाले बैंकिङ क्षेत्रको सुरुवात नै पीपीपी मोडलबाट भएको बताए । आधुनिक बैंकिङका सवालमा वित्तीय क्षेत्र कसरी अघि बढ्यो र कसरी आधुनिक बैंकिङसम्म आइपुग्यो भन्नेबारे स्पष्ट पारे ।
बैंकिङ विज्ञ अनलराज भट्टराईले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा पुगेको सन्दर्भमा संरचनात्मक सुधार, नीति कार्यान्वयनको प्रभावकारिता र डिजिटल प्रविधिमा आधारित भविष्यमुखी बैंकिङ प्रणाली अवलम्बन गर्न आवश्यक रहेको बताएका छन् ।
उनले नेपालको बैंकिङ क्षेत्रमा ठुलो प्राविधिक रुपान्तरण भइरहेको पनि बताए । उनका अनुसार चेकबुकबाट अघि बढेको बैंकिङ अहिले डिजटल कारोबारसम्म आइपुगेको छ । ‘बैंकमा पुुग्नै नपरी धेरै काम गर्न सक्ने अवस्था आएको छ, आधुनिकताले धेरै सहज बनाएको छ,’ भट्टराईले भने, ‘तर यससँगै सुरक्षा जोखिम बढेको छ, यसतर्फ पनि ध्यान पनि दिनुपर्छ ।’
प्रतिक्रिया