चौंथो बिएफसी लालिगुराँस कप २०२४ को तयारी पुरा 

ओसाका, जापान ।  जापानको ओसाकामा निरन्तर रुपमा विगत चार वर्ष देखि संचालन हुदैं आइरहेको बिएफसी लालिगुराँस कप २०२४, फुटसल प्रतियोगीता  टुर्नामेन्टको तयारी पुरा भएको छ । शान्ति राष्ट्रका लागि, खेल स्वास्थ्यको लागि, भन्ने मुल नाराका साथ बेन्तेन्च्यो एफसीले आयोजना गर्दै आएको लालिगुराँस कपको यस पटकको टाईसिट समेत सार्वजनिक भएको छ । विहिबार एक कार्यक्रमको आयोजना गर्दै २६ ओटा नेपाली फुटबल क्लबले सहभागिता जनाउने बेन्तेन्च्यो एफसीका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनु भयो । 

आईतबार ओसाकाको  निशिकुजोको फ्याब फुटसल ग्राउण्डमा आयोजना हुने उक्त प्रतियोगितालाई निकै उत्साहका साथ हेरिएको छ । प्रथम पुरस्कार चार लाख जापानीयन रहेको छ भने उपविजेताले २ लाख जापानीयन हात पार्नेछन साथै बेस्ट प्लेयर, बेस्ट किपर, हाइस्कोरर खेलाडीहरुको लागि नगद ५ हजार जापानी यन तथा ट्रफी लगाएतका आकर्षक पुरस्कार रहेको संयोजक श्रेष्ठले बताउनु भयो । 

प्रतियोगितामा जापानमा रहेका क्रियाशिल नेपाली फुटबल क्लबहरुले सहभागिता जनाउने बताइएको छ । बेन्तेन्च्यो एफसीको आयोजनामा हुन लागेको उक्त प्रतियोगीताबाट आम्दानी भएको  केही अंश रकम नेपालको बेसवल खेल उत्थान र प्रवर्धनमा खर्च गरिने बेन्तेन्च्यो एफसीका संयोजक श्रेष्ठले जानकारी दिनु भयो ।