टोकियो । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि नेपाल तामाङ समाज जापानले दुई चरणमा गरी कुल ९ लाख ४८ हजार १५५ जापानी येन बराबरको राहत सहयोग प्रदान गरेको छ। समाजका केन्द्रीय समिति तथा सातवटै क्षेत्रीय समितिमार्फत संकलित ७ लाख ९८ हजार १५५ येनमध्ये पहिलो चरणमा ६ लाख २६ हजार २४० येन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गरिएको थियो।
संकलित रकमबाट बाँकी रहेको १ लाख ७१ हजार ९१५ येनमा समाजको केन्द्रीय समितिको कोषबाट थप १ लाख ५० हजार येन जुटाएर दोस्रो चरणमा ३ लाख २१ हजार ९१५ येन बराबरको नगद राहत वितरण गरिएको समाजले जनाएको छ। नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा समाजका अध्यक्षको भौतिक उपस्थितिमा दोस्रो चरणको राहत वितरण गरिएको हो। गत भदौ १० गते आएको बाढीबाट प्रभावित भई काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ७८ घरपरिवारलाई उक्त राहत प्रदान गरिएको थियो। राहत प्राप्त गर्ने परिवारमा आमाबुबा नभएका चार जना बालबालिका पनि रहेका छन्।
राहत वितरण कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, नेपाल तामाङ घेदुङका उपाध्यक्ष रुप योन्जन तामाङ, दिनेश लो, नेपाल तामाङ समाज जापानका अध्यक्ष गिरबहादुर तामाङ घिसिङ, गायक विश्व दोङ, रसुवा घेदुङका अध्यक्ष एसटी लामा, समाजसेवी तेम्रेल तामाङ तथा आमाछोदिङ्मो गाउँपालिकाका वडा जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो। समाजले राहत अभियानमा समन्वय र सहयोग गर्ने नेपाल तामाङ घेदुङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्, केन्द्रीय समिति, सातवटै क्षेत्रीय समिति तथा सम्पूर्ण सहयोगी दाताहरूप्रति आभार व्यक्त गरेको छ।
प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले बाढीपीडित परिवारलाई राहत पुर्याउन महत्वपूर्ण योगदान गरेको समाजले जनाएको छ।
प्रतिक्रिया