ओसाका, जापान। कर्णाली प्रदेश समाज जापान क्षेत्रीय समिति कासाईद्वारा जापानको ओसाकामा आगामी नोभेम्बर ८ तारिख आइतबार तिहारको अवसरपारेर देउसीभैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना हुने भएको छ। कर्णाली प्रदेशको मौलिक कला, संस्कृति, परम्परा र पहिचानलाई जापानमा प्रवर्द्धन गर्ने तथा नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष झरेन्द्र कुंवर अन्जानले जानकारी दिनु भयो ।
कार्यक्रममा गायक तथा कलाकारहरू कुलवीर थापा, प्रकाश रसाइली ‘भावुक’, काजल गुरुङ, विष्णु रानाभाट, मनिषा ओलीलगायतको सांगीतिक प्रस्तुति रहनेछ। त्यस्तै, प्रितम मगर, मीरा क्षेत्री, अमन कुँवर, सुस्मिता शाही र हेमराज मगरलगायत कलाकारले पनि आ–आफ्नो प्रस्तुति दिनेछन्।
नेपाली लोकसंस्कृति, परम्परागत नृत्य तथा सांगीतिक प्रस्तुतिमार्फत नेपाली मौलिकताको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य कार्यक्रमले लिएको छ। जापानमा रहेका नेपालीहरूलाई एकै ठाउँमा भेला गराई आपसी सम्बन्ध सुदृढ बनाउने र नेपाली कला तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउने कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष कुंवरले जानकारी दिए।
आयोजकका अनुसार कार्यक्रम ओसाकाको नाम्बा क्षेत्रनजिकै रहेको नानीवा कुमिन सेन्टरमा साँझ ५ बजेदेखि राति ९ः३० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमस्थल साकुरागावा, नाम्बा तथा आशिहाराबाशी स्टेसनबाट पुग्न सकिने स्थानमा रहेको छ।
कार्यक्रममा सहभागी हुन कुनै प्रवेश शुल्क लाग्ने छैन। आयोजक समितिले जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।
प्रतिक्रिया