images

टोकियोमा २५७०औँ बुद्ध जयन्ती विशेष समारोह आयोजना हुँदै

टोकियो, जापान — २५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा जापानको टोकियोस्थित नेपाली राजदूतावासको संयोजनमा एक विशेष समारोह भव्य रूपमा आयोजना हुने भएको छ। उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ (NRNA) जापान, राष्ट्रिय समन्वय परिषद् जापान तथा आदिवासी जनजाति महासंघ जापानको सहकार्यमा सम्पन्न हुन लागेको हो।

शान्ति, करुणा र सहअस्तित्वका अमूल्य सन्देशका वाहक भगवान बुद्धको जन्मजयन्तीको ऐतिहासिक अवसरमा आयोजना गरिने यस कार्यक्रममा विभिन्न क्षेत्रका नेपाली समुदायका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले कार्यक्रमलाई थप अर्थपूर्ण, प्रेरणादायी र सफल बनाउन सबैलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा व्यक्त गरेका छन्।

कार्यक्रम आगामी २०८३ साल बैशाख ११ गते, शनिबार (२ मे २०२६) का दिन टोकियोको मिनातो–कुस्थित रेयुकाइ मुख्यालयमा आयोजना हुनेछ। कार्यक्रम बिहान ११ बजेदेखि सञ्चालन हुने जनाइएको छ। यस विशेष समारोहमार्फत बुद्धका उपदेशहरूलाई आत्मसात गर्दै समाजमा शान्ति र सद्भाव प्रवर्द्धन गर्ने लक्ष्य लिइएको आयोजकले बताएका छन्।

बिहीबार १७ बैशाख २०८३ ०२:५७ PM मा प्रकाशित

प्रतिक्रिया