images

बागमतीमा लाइसेन्स लिन र रिन्यु अब दोब्बर महँगो: कुन वर्गलाई कति ?

काठमाडौं । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन वा नवीकरण गर्न चाहने सेवाग्राहीका लागि आगामी आर्थिक वर्षदेखि आर्थिक भार बढ्ने भएको छ ।

प्रदेश सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी लाइसेन्स सम्बन्धी सबै प्रक्रियाको शुल्कमा शतप्रतिशत (दोब्बर) वृद्धि गरेको हो ।  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक विधेयकमार्फत लाइसेन्स आवेदन, नवीकरण र वर्ग थप शुल्कमा भारी वृद्धि गरेको हो ।

आवेदन र नवीकरण शुल्क : कुन समूहमा कति पुग्यो ?

नयाँ व्यवस्थाअनुसार अब लाइसेन्सका लागि आवेदन दिँदा नै पहिलेको तुलनामा दोब्बर दस्तुर बुझाउनुपर्नेछ । जसअनुसार आवेदन शुल्क ५०० रुपैयाँबाट वृद्धि गरी १ हजार रुपैयाँ पुर्याइएको छ ।

यस्तै मोटरसाइकल, स्कुटर (ए वर्ग) तर्फ लाइसेन्स र नवीकरण शुल्क १ हजार ५ सयबाट वृद्धि गरी ३ हजार रुपैयाँ पुर्याइएको छ।

कार, जिप, भ्यान (बी वर्ग), टेम्पो (सी वर्ग) र पावर ट्रिलर (डी वर्ग) तर्फ २ हजारबाट वृद्धि गरी ४ हजार रुपैयाँ पुर्याइएको छ भने ट्रयाक्टर (ई वर्ग) र मिनीबस/मिनी ट्रक (एफ वर्ग) तर्फ २ हजार ५ सयबाट वृद्धि गरी ५ हजार रुपैयाँ पुर्याइएको छ ।

जी, एच, आई र जे वर्ग (ट्रक, बस, लहरी, रोडरोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्साभेटर, ब्याकहो लोडर, ग्रेडर) तर्फ ३ हजारबाट वृद्धि गरी ६ हजार रुपैयाँ पुर्याइएको छ।

यसबाहेक आफूसँग भएको लाइसेन्समा नयाँ वर्ग थप गर्न चाहनेहरूका हकमा पनि शुल्क बढाइएको छ । जसअनुसार ए देखि एफ वर्गसम्मको हकमा ५ सयबाट १ हजार रुपैयाँ र जी देखि जे वर्गसम्मको हकमा १ हजारबाट २ हजार रुपैयाँ पुर्याइएको छ ।

शुल्कमा उल्लेख्य वृद्धि गरिए पनि लाइसेन्सको वैधता अवधि भने हालको १० वर्ष नै कायम राखिएको छ।

 
मङ्गलबार १६ असार २०८३ ०४:१३ PM मा प्रकाशित

प्रतिक्रिया