ओसाका, जापान। घुम्टे युवा परिवार जापानद्वारा आयोजित चौथो सिल्भर रनिङ कप भलिबल प्रतियोगिता जापानको ओसाकामा सफलतापूर्वक सम्पन्न भएको छ। खेलकुदमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै शिक्षामा लगानी गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताले महत्वपूर्ण सामाजिक सन्देश दिएको छ।
प्रतियोगिताको मूल उद्देश्य “शिक्षामा लगानी” रहेको थियो। सोही लक्ष्यलाई कार्यान्वयन गर्दै संस्थाले गलकोट नगरपालिका–७ साविक मल्म–७ का पाँच सामुदायिक विद्यालयमा प्रतिविद्यालय रु. ५० हजारका दरले अक्षय कोष स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको छ। यसअनुसार प्रारम्भिक चरणमा कुल रुपैंया २ लाख ५० हजार बराबरको अक्षय कोष स्थापना गरिनेछ।
संस्थाका अध्यक्ष नारायण थापा, सचिव प्रकाश केसी र कोषाध्यक्ष प्रकाश थापा ले शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउने उद्देश्यले यो निर्णय गरिएको बताएका छन्। उनीहरूले स्थापना गरिने अक्षय कोषलाई संस्थाको प्रत्येक नयाँ कार्यसमितिले क्रमशः वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। यसबाट आगामी दिनमा विद्यालयका विद्यार्थी, शैक्षिक गतिविधि तथा आवश्यक शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
चौथो सिल्भर रनिङ कप भलिबल प्रतियोगिता संस्थाका खेल संयोजक रवि केसी र कार्यक्रम संयाजक कल्पना थापा खड्काले संयोजन गरेका थिए ।
खेलकुदलाई सामाजिक उत्तरदायित्वसँग जोडेर शिक्षाको क्षेत्रमा लगानी गर्ने घुम्टे युवा परिवार जापानको यो अभियानलाई प्रवासबाट मातृभूमिको शैक्षिक विकासमा पुर्याइएको प्रेरणादायी र अनुकरणीय योगदानका रूपमा हेरिएको छ। संस्थाले आगामी दिनमा पनि शिक्षा, समाजसेवा र सामुदायिक विकासका यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।