images

कल्पतरुको वार्षिकोत्सव र साधारणसभा सम्पन्न

भदौ १६, काठमाडौं । कल्पतरु प्रज्ञा प्रतिष्ठानले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ । वरिष्ठ कवि कञ्चन पुडासैनीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको सभापतित्व संस्थाका अध्यक्ष नवराज पुडासैनीले गर्नु भएको थियो । अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ’वेदमणि’, समालोचक प्रा.डा. गोविन्द मान सिंह कार्की, नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, साहित्यकारहरू वसन्त रिजाल, उद्धव रायमाझी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । सोही अवसरमा सह—प्राध्यापक डा. विदुला घिमिरे कृत र कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कृति प्राज्ञिक समालोचनाको लोकार्पण कवि कञ्चन पुडासैनीले गर्नुभयो । उक्त कृतिको समिक्षा कल्पतरु द्वैमासिकका कार्यकारी सम्पादक सिध्दनारायण आचार्यले गर्नुभएको थियो भने आफ्नो कृतिका बारेमा कृतिकार डा. विदुला घिमिरेले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कल्पतरु द्वैमासिक पत्रिकाको २३औ वार्षिकोत्सवका उपलक्ष्यमा वर्ष २०८१/२०८२ भर पत्रिकामा प्रकाशित भएका सिर्जनाको मूल्यांकनमा प्रत्येक अंकमा उत्कृष्ट ठहरिनुभएका सर्जकहरु हुनुहुन्थ्यो भने सर्वोत्कृष्ट भई नगद पुरस्कार सहित प्रमाणपत्रद्वारा सम्मानित हुनुहुनेमा साहित्यकार विश्व कुइकेल हुनुहुन्थ्यो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नवराज पुडासैनीले आफ्ना स्वर्गीय पिता कृष्णप्रसाद पुडासैनीको नाममा स्थापना गर्नुभएको कल्पतरु–कृष्ण वालप्रतिभा पुरस्कार ईस्टपोल मा.वि का विद्यार्थी सौरभी तिवारीलाई प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कवि गोकुल अधिकारीले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष विमल अर्यालले गर्नु भएको थियोे । साथै पत्रिकाका संस्थापक सम्पादक मुकुन्द अर्यालले कविता वाचन गर्नुका साथै चौविस वर्ष पहिले प्रकाशित भएको कल्पतरु पत्रिकाको पहिलो अङ्क प्रतिष्ठानको पुस्तकालयलाई हस्तान्तरण गर्नभएको थियो । दोस्रो सत्रमा निर्वाचन अधिकृत उद्धव रायमाझीले निर्विरोध निर्वाचित हुनु भएका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको नाम घोषणा गर्नुभएको थियो । जस अनुसार अध्यक्षमा नवराज पुडासैनी ’ज्योत्सना’, उपाध्यक्षमा डा. विदुला घिमिरे र विमल अर्याल, सदस्य सचिवमा राजन पुडासैनी, सचिवमा रमेश रिजाल, कोषाध्यक्षमा उमेश तिमिल्सिना र सदस्यहरुमा क्रमशः देविका तिमिल्सिना, सुमन पुडासैनी, शशीश्री आचार्य, शारदा अधिकारी, मुकुन्द अर्याल, गोकुल अधिकारी हुनुहुन्छ ।

सोमबार १६ भदौ २०८२ ०१:४७ PM मा प्रकाशित

प्रतिक्रिया