images

काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दियोः अध्यक्ष यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाउनुभएको छ । वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताउनु भयो । उहाँले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताउनु भयो । उहाँले युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताउनु भयो । उहाँले मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘गरिबी र बेरोजगारी यति बढेको छ की आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरुलाई रोजगारीको लागि कुनै स्थान छैन । साराका सारा युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरु बाहिर गइरहेका छन्, कामको खोजिमा । ८ देखि १० वटा शव बाहिरबाट आइरहेका छन् । केही समय पहिला मात्रै दुई तीन हजार मानिस मात्रै बाहिर थिए भने आज ७५ लाख मानिस कामको खोजिमा बाहिरिएका छन् । गाउँमा युवाहरु भेटिँदैनन् । यस्तो नाजुक स्थिति छ । यो स्थिति बनाउने को हो ? को जिम्मेवार छ ? देशमा शासन, सत्ताको नेतृत्व गर्नेहरु नै हुन् । सरकार चलाउने, देशको अर्थतन्त्र चलाउनेहरु नै हुन् । नेपाली काँग्रेस र कम्युनिष्टहरु नै यसका जिम्मेवार हुन् । मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको हो ।’ 
 

सोमबार १७ भदौ २०८१ ०३:०६ PM मा प्रकाशित

प्रतिक्रिया