काठमाण्डौँ - नेकपा एमालेले केन्द्रीय उपाध्यक्षहरूलाई विभागको संयोजनको जिम्मेवारी निर्धारण गरेको छ । शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका सातजना उपाध्यक्षलाई विभागहरूको कामको संयोजनको जिम्मेवारी निर्धारण गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षहरूले विभागीय कामको संयोजन गरेर नीति बनाउन योगदान दिनेछन् । ‘उहाँहरूले नीति बनाउने ठाउँमा नीति तर्जुमा गर्नुहुनेछ । सरकारलाई दबाब दिनुपर्ने ठाउँमा दबाब पनि दिनुहुनेछ । विज्ञहरूसँग परामर्श गर्नुपर्नेलगायतका कामहरू गर्नुहुनेछ,’ ज्ञवालीले भने ।
त्यसमध्ये योजना र नीतिसँग जोडिएका कामहरूको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् । पूर्वाधार विकास र निर्माणसँग जोडिएका विभागहरूको कामको नेतृत्व सुरेन्द्र पाण्डेले गर्नेगरी जिम्मेवारी तोकिएको ज्ञवालीले जानकारी दिए ।