पोखरा । पोखरामा जारी कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए ।
पाण्डेको गीतमा महानायक हमालसँगै कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी र भक्तजन पनि नाचेका थिए । कोटीहोममा महानायक राजेश हमालको सहभागिताले आफूहरु निकै निकै उत्साहित भएको श्रीविजय कृष्णमूर्तिजीले बताए ।उनले गण्डकीको कोटीहोम निकै सफल भएको दावी गर्दै अन्य प्रदेशमा पनि कोटीहोम गर्ने बताए ।उक्त अवसरमा महानायक हमालले पवित्र मेलामा उपस्थिति जनाउने मौका दिएकोमा आयोजकप्रति आभार व्यक्त गरे । कोटिहोम दर्शन गर्दै गर्दा उपस्थित भक्तजन उत्साहित भएको पाएको भन्दै उनले सत्मार्गतर्फ लाग्न सके जीवनले सार्थकता पाउने स्पष्ट पारे । कोटीहोम साच्चिकै ऐतिहासिक रहेको भन्दै उनले जीवनलाई आनन्दित बनाउन यस्ता खालका कोटिहोम आवश्यक रहेको बताए ।कोटीहोममा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिएका छन् । सोमबार महानायक राजेश हमालको सहभागिताका साथै राधिका दासीको प्रवचन सुन्न टाढाटाढाबाट भक्तजन पुगेका छन् । पोखरा स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया