images

ब्रेन हेमरेजबाट पीडित विष्णु कुँवरको उपचारका लागि गलकोट समाज जापान क्षेत्रीय समिती टोकियोद्वारा ३ लाख १३ हजार सहयोग

 

दिनेश थापा, टोकियो।  

जापानमा ब्रेन हेमरेजबाट गम्भीर बिरामी परेकी बागलुङको बडिगाड गाउँपालिका–१०, निगलपानी निवासी २१ वर्षीया विष्णु कुँवरको उपचारका लागि गलकोट समाज जापान, क्षेत्रीय समिति टोकियो (कान्तो) ले सङ्कलन गरेको ३ लाख १३ हजार २७२ रुपैयाँ परिवारलाई हस्तान्तरण गरेको छ। विद्यार्थी भिसामा सुन्दर भविष्यको सपना बोकेर जापान आएकी कुँवर काम गर्ने क्रममा अचानक ब्रेन हेमरेज भएपछि गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएकी हुन्। उनको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले गलकोट समाज जापानले आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो।

उक्त अभियानमा १०४ जना सहयोगीबाट सङ्कलित रकम कुँवरको निवासमै पुगेर उनका बुबा अमर सिंह कुँवर र आमा गोरी कुँवरलाई हस्तान्तरण गरिएको हो। रकम हस्तान्तरण कार्यक्रममा गलकोट समाज जापानका सल्लाहकार दण्ड केसी र कार्यसमिति सदस्य हिमाल सापकोटाको उपस्थिति रहेको थियो। उनीहरूले परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै विदेशमा रहेर पनि दुःख र सङ्कटमा परेका नेपालीलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताए।

कार्यक्रममा सल्लाहकार दण्ड केसीले मानवीय संवेदना र सहयोगको भावना सबैमा कायम रहनुपर्ने उल्लेख गर्दै सानो सहयोगले पनि सङ्कटमा परेको परिवारलाई ठूलो राहत पुग्न सक्ने बताए। उनले विष्णुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे। समितिका अध्यक्ष ईश्वर बस्नेतले विष्णुको कठिन परिस्थितिबारे जानकारी पाएपछि मानवीय भावनाका साथ सहयोग अभियान सुरु गरिएको बताए। अभियानमा साथ दिने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै उनले सङ्कलित रकमले उपचारमा केही भए पनि राहत पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, समितिका सचिव चतुर्भुज सापकोटाले अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे। १०४ जना सहयोगी एकजुट भएर देखाएको सद्भाव र सहयोगले सामाजिक सेवामा थप प्रेरणा मिलेको उनको भनाइ थियो। समितिका कोषाध्यक्ष मिठु थापाले सङ्कलित रकम पारदर्शी रूपमा सम्बन्धित परिवारसम्म पुर्‍याइएको जानकारी दिँदै सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गरिन्।

रकम हस्तान्तरण कार्यक्रममा हटिया माध्यमिक विद्यालयका शिक्षक सोमलाल सापकोटा, जनजागृति माध्यमिक विद्यालयका शिक्षक सुरेन्द्र छन्त्याल, समाजसेवी पदम सलामी तथा भलिबल खेलाडी सन्दीप बुढाथोकीलगायतको उपस्थिति रहेको थियो। यसअघि पनि गलकोट समाज जापानका प्रतिनिधिहरूले जापानमा उपचाररत विष्णुको अवस्थाबारे जानकारी लिन पटक–पटक अस्पताल पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिँदै आएका थिए।

विदेशमा रहेर पनि मातृभूमिमा रहेका नेपालीको दुःख, पीडा र सङ्कटमा साथ दिँदै आएको गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

शुक्रबार​ १४ कात्तिक २०८३ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया