टोकियो — प्रवासमा नेपाली पत्रकारिताको विकास, पत्रकारहरूको मनोबल अभिवृद्धि तथा पत्रकारितालाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाले स्थापना गरेको प्रवास पत्रकारिता पुरस्कार कार्यक्रमका लागि रेमिट्यान्स सेवा प्रदायक कम्पनी फोरेक्स जापानसँग तीन वर्षे प्रायोजन सम्झौता गरिएको छ।
नेपाल पत्रकार महासंघ जापान शाखा र फोरेक्स जापानबीच भएको उक्त समझदारीअनुसार महासंघको स्थापना दिवसको अवसर पारेर सन् २०२६ मार्च १५ मा वितरण गरिने प्रवास पत्रकारिता पुरस्कार–२०२६ देखि लगातार तीन वर्षसम्म कार्यक्रम प्रायोजन गर्ने सहमति भएको हो। आवश्यकता अनुसार आगामी वर्षहरूमा समेत सहयोगलाई निरन्तरता दिने विषयमा दुवै पक्षबीच सहकार्य कायम रहने जनाइएको छ।
महासंघका अनुसार वार्षिक रूपमा प्रदान गरिने उक्त प्रवास पत्रकारिता पुरस्कारको राशि ५० हजार येन रहनेछ। उक्त पुरस्कार रकम फोरेक्स जापानले सहयोग गर्ने गरी सम्झौता गरिएको हो। प्राप्त सहयोग रकमलाई प्रवास पत्रकारिता पुरस्कार कार्यक्रम तथा त्यससँग सम्बन्धित विविध गतिविधि सञ्चालनमा प्रयोग गरिने बताइएको छ।
प्रवासमा क्रियाशील नेपाली पत्रकारहरूको योगदानलाई सम्मान गर्दै पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको यस पुरस्कारले प्रवासमा सञ्चालित नेपाली पत्रकारिता क्षेत्रलाई थप सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। साथै यस सहकार्यले प्रवासमा पत्रकारिता क्षेत्र र व्यावसायिक संस्थाबीच सहकार्यको सकारात्मक उदाहरण स्थापित गर्ने अपेक्षा गरिएको छ।
यससँगै नेपाल पत्रकार महासंघ जापान शाखा र फोरेक्स जापानबीच व्यवसाय प्रवर्द्धनका क्षेत्रमा पनि पारस्परिक सहयोग गर्ने सहमति भएको जनाइएको छ। समझदारीपत्रमा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ (गोर्खाली) र फोरेक्स जापानका निर्देशक तथा सीओओ पशुपति भण्डारीले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा महासंघका सचिव अर्जुन लामिछाने, पत्रकार जीवन सुवेदी तथा फोरेक्स जापानका निर्देशक बाबुराम पौडेलको उपस्थितिमा उक्त समझदारी सम्पन्न भएको थियो।
छैटौँ अधिवेशनपछि बनेको नयाँ कार्यसमितिले प्रवास पत्रकारिता पुरस्कार स्थापना गर्नुका साथै त्यससम्बन्धी कार्यविधि तयार पार्न खगराज गौतमको संयोजकत्वमा दिनेश कुमार थपलिया र इन्दिरा खनाल सदस्य रहने गरी समिति गठन गरेको थियो। उक्त समितिले तयार पारेको आवश्यक कार्यविधि कार्यसमिति बैठकले अनुमोदन गरेको महासंघले जनाएको छ।
साथै सोही कार्यविधि निर्माण समितिलाई जुरी ९निर्णायक० समितिका रूपमा समेत कार्यसमितिले अनुमोदन गरेको र समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको जनाइएको छ।
प्रतिक्रिया