सानिमा बैंकले नाफा २५ प्रतिशतले बढायो 

 काठमाडौँ - समग्र बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा बढ्दा सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्था प्रोभिजन रकम पनि बढ्दै गएको छ । गत आर्थिक वर्ष आव २०७९र८० मा सानिमा बैंकको प्राभिजन रकम बढ्दा पनि नाफा उलेख्य बढेको छ ।

व्यवसाय उल्लेख्य विस्तार नभएपनि बैंकले ब्याजदर अन्तर स्प्रेड दरलाई व्यवस्थापन गर्दा खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । जसले गर्दा प्रोभिजन बढ्दा पनि बैंकको नाफामा उल्लेख्य सुधार भएको हो । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८र७९ को भन्दा २५.१३ प्रतिशले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले गत आर्थिक वर्षमा बोनस सेयर मार्फत चुक्ता पूँजी १० प्रतिशतले बढाएर १२ अर्ब ४६ करोड १ लाख पुर्‍याएको छ ।

चुक्ता पूँजी बढाउँदा पनि बैंकको नाफामा भएको वृद्धिले प्रतिसेयर आम्दानी अघिल्लो वर्ष १८ रुपैयाँ ४८ पैसा रहेकोमा गत आर्थिक वर्षमा २१ रुपैयाँ २ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात १२.३९ गुणा छ ।

गत आर्थिक वर्षमा बैंकको निक्षेप ११.५१ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब ६४ करोड ३० लाख रुपैयाँ पुग्दा कर्जा लगानी भने ६.५० प्रतिशतले मात्रै वृद्धि भई १ खर्ब ४५ अर्ब ३९ करोड ७९ लाख पुगेको छ ।

कर्जाको तुलनामा निक्षेपको वृद्धिदर उच्च हुँदा ब्याज आम्दानीको तुलनामा बैंकको ब्याज खर्च बढेको छ । तर पनि बैंकको खुद ब्याज आम्दानी भने ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ९३ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ६५ करोड १८ लाख रुपैयाँ मात्रै थियो । २०७९ असार मसान्तमा ३.८६ प्रतिशत रहको बैंकको स्प्रेड दर गत आर्थिक वर्षमा बैंकले राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशतसम्म पुर्याएको थियो भने असार मसान्तमा आउँद राष्ट्र बैंकले तोकेको ४ प्रतिशतको सीमाभित्र ल्याएको छ । जसले बैंकको खुद ब्याज आम्दानी बढेको हो ।

बैंकको ब्याज आम्दानीमा भएको वृद्धिले सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन ५५ करोड ४४ लाख रुपैयाँबाट बढेर १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

२०७९ असार मसान्तमा ०।३३ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा २०८० असार मसान्तमा आउँदा बढेर १.३० प्रतिशत पुगेको छ । जसले बैंकको प्रोभिजन रकम बढाएको हो ।