काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् । संसदको गतिरोेध हटाउन सभामुख घिमिरले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले सोमबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन आह्वान गरेका हुन् ।
साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेको थियो । एमालेको अडानका कारण त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए ।