images

रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा

काठमाडौं । रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा राखिएको छ । पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षको छलफललाई रास्वपाले प्रदेश तहमा पनि विस्तार गरेको छ । गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो । सोहीअनुसार रास्वपाको बागमती प्रदेश समितिले आज र भोलि भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको हो । क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित २ सय  ५० जना सहभागी रहेका छन् । ‘क्लोज क्याम्प’मा केन्द्रमा जस्तै विचार, संगठन, अभियान, मूल्य–मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब÷लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा समूहगत छलफल भइरहेको छ ।भोलि (शुक्रबार) आउने समूहगत छलफलको निश्कर्षलाई एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने रास्वपा बागमती प्रदेश समितिका सभापति डा.अच्युत लामिछानेले जानकारी दिए । बागमती प्रदेशस्तरीय ‘क्लोज क्याम्प’को सहजीकरण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय  सदस्यहरु शिशिर खनाल, सोविता गौतम, पुकार बम र केन्द्रीय विभागका कृष्णमान श्रेष्ठलगायतले गरिरहेका छन् । रास्वपाले प्रत्येक प्रदेशको क्लोज क्याम्पको सहजीकरणका लागि केन्द्रीय नेताहरु खटाएको छ ।‘हालसम्मको गहन समीक्षासहित पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रुपमा सुदृढ गर्न अभियानकै रुपमा ‘क्लोज क्याम्प’ गरेका हौं’ कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले भने, केन्द्रले विधान संशोधनमा सुझावसमेत मागेको छ, त्यसबारे पनि छलफल हुन्छ ।’अन्य प्रदेशमा भने भोलि र पर्सी ‘क्लोज क्याम्प’ हुँदैछ ।
 

बिहीबार २४ साउन २०८१ ०७:४८ PM मा प्रकाशित

प्रतिक्रिया