images

प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं ।  नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साउन २२ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच उनलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । साथै नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको २०८१ जेठ १३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक ई.दिपेश जोशीलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे। दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रदर्शन गरेको दक्षता, कुशलता, इमानदारिता र राष्ट्र, जनता एवम् संगठनप्रति पु¥याएको योगदानको उच्च मूल्याङ्कनको आधारमा पदोन्नति भएको उनले चर्चा गरे । प्रहरी महानिरीक्षक कुँवरले सांगठनिक सुदृढिकरण र संगठनको बृहत्तर हितको लागि पदोन्न्ति भएका प्रहरी अधिकृतहरूले अझ बढी क्रियाशील र समर्पित भएर विशिष्टिकृत ढंगबाट कार्यसम्पादन गर्ने विश्वास लिएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितको लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । नेपाल प्रहरीको कार्यसम्पादनको स्तरलाई नविनतम प्रविधिको प्रयोगसँगै समायानुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा उनले जोड दिए । प्रहरी सेवा प्रतिको अपेक्षा एवम् गुनासो बढिरहेको र त्यसका लागि उच्च मनोबल भएको प्रहरी आवश्यक रहेको हुँदा यसतर्फ हामी सबैले मनन गरी अगाडि बढ्न जरूरी रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘हामीले चाहेको खण्डमा हामी प्रतिको समाजको दृष्टिकोण, समाजमा परिवर्तन र सुधार ल्याउन सम्भव भएकोले यो कार्यको शुरूवात आफैबाट हुन जरूरी छ । तसर्थ यो वर्दीको इज्जत बढाउनेतर्फ हरदम केन्द्रीत हुनुहोस् । यो नै हामी सबैको हितमा हुन्छ । परम्परागत सोँचाइ र शैलीलाई त्यागेर आ–आफ्नो स्थानबाट व्यावसायिक इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’  समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले संगठनको नीतिलाई अंगिकार गर्दै कार्यसम्पादन गर्ने बताए ।पदोन्नतिसँगै थपिएको जिम्मेवारीमा जवाफदेहिता, पारदर्शिताका साथ आफ्नो भूमिका निर्वाह गर्ने एवम् संगठनको श्रीवृद्धिमा सदैव कटिवद्ध रहने प्रतिवद्धता उनले व्यक्त गरे । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
 

बिहीबार २४ साउन २०८१ ०७:५० PM मा प्रकाशित

प्रतिक्रिया