महालक्ष्मी विकास बैङ्कको नाफा किन घट्यो, प्रतिसेयर आम्दानी र नेटवर्थ कति ?

 काठमाडौँ - महालक्ष्मी विकास बैङ्कले गत आर्थिक बर्षमा ४७ करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैङ्कले प्रकाशित गरेको गत आवको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो बर्ष ९० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको महालक्ष्मीले यस बर्ष भने ४७ करोड ९ लाख रुपैयाँ मात्रै नाफा कमाएको हो । यो अघिल्लोको बर्षको सोही अवधिको तुलनामा ४७।९५ प्रतिशत कम हो । 

समीक्षा अवधिमा यस बैङ्कको खुद ब्याज आम्दानी ०.४५ प्रतिशतले बढेर १ अर्ब ९० करोड १७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफामा भने गिरावट आएको छ । गत आवमा बैङ्कको सञ्चालन मुनाफा भने ४२.५७ प्रतिशतले घटेर ७१ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ । 

सञ्चालन मुनाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा गत बर्ष बैङ्कको नाफामा दबाव परेको देखिन्छ । समीक्षा अवधिमा बैङ्कको वितरणयोग्य नाफा १९.९३ प्रतिशतले घटेर ३३ करोड ६३ लाख रुपैयाँमा सीमित बनेको छ । बैङ्कको निक्षेप सङ्कलन २०.१८ प्रतिशत र कर्जा लगानी ६.९५ प्रतिशतले बढेको छ । गत आवको असार मसान्तसम्म बैङ्कले ५१ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर ३७ अर्ब ३४ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको हो । 

त्यस्तै बैङ्कको खराब कर्जा १.०८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा खराब कर्जा २.४३ प्रतिशत रहेकोमा समीक्षा अवधिमा ३.५१ प्रतिशत पुगेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी घटेर ११ रुपैयाँ २९ पैसामा  सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५६ पैसा रहेको थियो । समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा रहेको छ ।