फेरि अघोषित लोडसेडिङ

काठमाडौँ - औद्योगिक क्षेत्रमा माघ पहिलो साता बिहान र बेलुका उच्च मागको समयमा करिब नौ घण्टा लोडसेडिङ भयो। नेपाल विद्युत् प्राधिकरणले अघोषित रूपमा औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको थियो । भारतको बिहारबाट विद्युत् आयात घट्दा बिहान र बेलुका पिकआवरमा उद्योग नचलाउन भनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वीकार गर्छन् ।

‘भारतको बिहार राज्यमा एक हजार मेगावाट उत्पादित प्लान्ट बन्द हुँदा नेपालमा आयात कम भएको हो। त्यो अहिले धेरै हदसम्म घटिसक्यो’, कार्यकारी निर्देशक घिसिङले भने । उनका अनुसार बिहान र साँझ कहिलेकाहीँ १–२ घण्टा लोडसेडिङ हुने गरेको छ। त्यसअघि वैशाखमा पनि औद्योगिक क्षेत्रमा लोडसेडिङ भएको थियो ।

करिब २३ सय मेगावाटको जडित क्षमतामा अहिले आन्तरिक उत्पादन करिब ७ सय ५० मेगावाटमा झर्दा र आयातमा कमीका कारण औद्योगिक क्षेत्रमा लोडसेडिङ भएको हो । विद्युत्को माग करिब १२ सय मेगावाट छ। विद्युत्को उच्च माग करिब १६ सय मेगावाट छ। अहिलेको निजी क्षेत्रको करिब ३ सय ५० मेगावाट, प्राधिकरण र सहायक कम्पनी गरी करिब ४ सय मेगावाट उत्पादन भइरहेको छ । करिब १० वर्षयताको सबैभन्दा बढी सुक्खा यो वर्ष भएको प्राधिकरणका अधिकारी बताउँछन्। आन्तरिक उत्पादन करिब ३० प्रतिशतसम्म झरेकोे छ । 

माघ पहिलो साताको तुलनामा स्थिति सुध्रिएको उद्योगी पशुपति मुरारका बताउँछन् । ‘औपचारिक रूपमा नभए पनि बिहान ४ घण्टा र बेलुका ५ घण्टा लोडसेडिङ भएको थियो। अहिले पिक समयमा कम लोडमा चलाउन भनिएको छ’, मुरारकाले भने। आयात गरिरहेकाले यसलाई सामान्य रूपमा लिइएको उनको भनाइ छ ।  तर, बिहारबाट विद्युत् आयात नहुँदैमा लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले बताउँछन् । विद्युत् आयात नै भइरहेकाले एकातिर बन्द भए अर्कोतिरबाट आयात गर्न सकिन्थ्यो भन्ने उनको तर्क छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।