काठमाडौँ - राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन प्रकरणको छानबिनका लागि एमालेको माग बमोजिम उच्चस्तरीय छानबिन समिति गठन गरे प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले उच्चस्तरीय छानविन समिति गठन गरेपछि पनि क्षेत्राधिकार र कार्यदेशको प्रश्न उठ्न सक्ने र प्रधानमन्त्रीले समेत राजीनामा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।
गौतमले एमालेले प्रधानमन्त्रीलाई नै हटाउन खोजेको आशंका व्यक्त गर्दै हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याउन सुझाव समेत दिए ।
गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरू गरेर सरकारले राम्रो काम गरेको भन्दै यस्ता प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।