सिरिया र टर्कीमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २० हजार नाघ्यो

 काठमाण्डौँ - सिरिया र टर्कीमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २० हजार जना नाघेको छ । गएको सोमवार टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २० हजार जना नाघेको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये  झण्डै १५ हजार जना टर्कीका रहेका छन् । अझै पनि केही मानिस जीवितै भेटिने आसामा उद्धारकर्ताले कठ्याङ्ग्रिँदो रातमा समेत उद्धार कार्य जारी राखेका खबरमा उल्लेख छ ।

यसैबीच, सिरियाको  उत्तर पश्चिममा रहेको भूकम्प प्रभावित क्षेत्रमा पहिलोपटक राहत सामग्री पुगेको छ । विद्रोहीको कब्जामा रहेको उत्तर पश्चिम क्षेत्रमा संयुक्त राष्ट्र सङ्घले ४ वटा लरीमार्फत् राहत सामग्री पठाएको खबरमा उल्लेख छ । यसअघि विद्रोही समूहले अनुमति नदिँदा र सडक भत्किएका कारण भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न सकेको थिएन ।