काठमाडाै । नेपाली साहित्यका सशक्त हस्ताक्षर आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको १ सय १३ औं जन्मजयन्तीका अवसरमा यही २४ गते साहित्य सदन नेपालले राजधानीमा ‘आख्यानमा विश्वेश्वरप्रसाद कोइराला’ विषयक सङ्गोष्ठी आयोजना गर्यो । वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि र सदनका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षता रहेको सो सङ्गोष्ठी कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले 'विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा इतरजातीय नारीपुरुष सम्बन्ध' प्रा.डा. नारायणप्रसाद चालिसेले 'विश्वेश्वरप्रसाद कोइरालाका आख्यानको प्रगतिशील वैचारिक समाजदर्शन' र डा. अनुपमा रेग्मीले 'विश्वेश्वरप्रसाद कोइराला कथामा प्रयुक्त दिगकाल' विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै नेपाली साहित्यको आख्यान क्षेत्रमा कोइरालाको विशिष्ट एवं बहुआयामिक योगदान रहेको चर्चा गर्नुभएको थियो । कार्यक्रममा पूरक प्रस्तोताहरू प्रा.डा. रमेशप्रसाद भट्टराई, प्रा.डा. ज्ञानु पाण्डे र प्रा.डा. गोपीन्द्र पौडेलले कोइराला नेपाली आख्यान क्षेत्रको धरोहर भएको उल्लेख गर्दै गोष्ठीपत्रहरूमाथि आआफ्ना टिप्पणी र सुझाव राख्नुभएको थियो । गोष्ठीमा थप पूरक विचार राख्नेहरूमा वरिष्ठ साहित्यकारहरू डा. विष्णुविभू घिमिरे, प्रा.डा. जीवेन्द्र गिरी, प्रा.हेमचन्द्र नेपाल, प्रा. पुरुषोत्तम दाहाल, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा.जगदीशचन्द्र भण्डारी, साहित्यकार नर्मदेश्वरी सत्याल, भीमानन्द ढुङ्गाना, देविका तिमल्सिना, रमेश खनाल लगायत हुनुहुन्थ्यो । सङ्गोष्ठीमा काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाले कोइरालाको लोकतन्त्रप्रतिको योगदानका बारेमा मन्तव्य राख्दै साहित्य सदनप्रति आफ्नो साथसहयोग सधैँ रहिरहने बताउनुभयो ।
साहित्य सदन नेपालका उपाध्यक्ष मित्रलाल पंज्ञानीले गोष्ठीको अैाचित्य र स्वागत मन्तव्य राख्नुभएको र सदनका सचिव प्रह्लाद पोख्रेलले सञ्चालन गर्नुभएको सो सङ्गोष्ठीमा प्रमुख अतिथि डा. तुलसी भट्टराईले कोइरालाका राजनीतिक र साहित्यिक योगदानमाथि प्रकाश पार्दै साहित्य सदन नेपालले कोइरालाका आख्यानमा केन्द्रित भएर जुन सङ्गोष्ठी आयोजना गरेको छ यो वर्तमान सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण रहेको छ र सायद आज मुलुकभरिकै सबभन्दा महत्त्वपूर्ण कार्यक्रम यो नै रहेको भन्नुभयो । उहाँले अहिलेको अवस्थामा लोकतान्त्रिक स्रष्टाहरू पुन: एकजुट हुनुपर्ने अवस्था आएको पनि बताउनुभयो । सभापतिका आसनबाट डा.हेमनाथ पौडेलले विश्वेश्वरप्रसाद कोइरालाको नेपाली राजनीतिमा मात्र होइन, साहित्यमा पनि विशिष्ट योगदान रहेको उल्लेख गर्नुभयो र नेपालको राजनीतिक आकाशमा हिजो ठुला दलहरूले मुलुक र जनताका पक्षमा भन्दा पार्टी र व्यक्तिस्वार्थमा काम गर्दा जनता असन्तुष्ट बनेकाले आजको अवस्था आएको उल्लेख गर्दै अहिले मुलुक दोबाटोमा रहेको हुँदा लोकतन्त्रवादी शक्तिले आत्मसमीक्षा गरेर सुध्रने बाटोमा लाग्नुपर्ने र सबै लोकतान्त्रिक शक्ति एकता बद्ध भएर अगाडि बढ्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले यसको सुरुवात यही कार्यक्रबाट साहित्यकारहरुबाट गरिएको बताउँदै अब प्रमुख अतिथिले भन्नुभए जस्तै लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चको आवश्यकता भएको पनि बताउनुभयो र उपस्थित सबैलाई धन्यवाद दिएर सभा समापन गर्नुभयो । सगङ्गोष्ठीमा साहित्यकारहरू खगेन्द्र सङ्ग्रौला, प्रा.डा. कुलप्रसाद कोइराला, प्रा.प्रयागराज वाशिष्ठ, कोशराज न्यौपाने, ईश्वरी लामिछाने, गोविन्द घिमिरे वेदमणि, मातृका पोख्रेल, गोकुल अधिकारी, प्रा.डा.नन्दीश अधिकारी ,मधुसुदन पाण्डेय, शान्ता मानवी, डा.विन्दु शर्मा, डा.गीता त्रिपाठी, डा.रजनी ढकाल डा. विदुला घिमिरे, डा.हरिप्रसाद सिलवाल लगायतका विशिष्ट साहित्यकारहरूको घनीभूत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया