मूल्यवृद्धि फेरि ८ प्रतिशत नजिक, सबैभन्दा बढी महँगी काठमाडौंमा

काठमाण्डौँ - नेपाल राष्ट्र ब्यांकका अनुसार, वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्यवृद्धि दर माघमा ७.८८ प्रतिशत पुगेको छ । यो गत वर्षको यही अवधिमा ६.२४ प्रतिशत थियो ।

गत भदौमा उच्च विन्दुमा पुगेको मूल्यवृद्धि दर त्यस यताका महीनामा घटिरहेको थियो । भदौ महीनामा ८.६४ प्रतिशत पुगेको थियो । पुसमा मूल्यवृद्धि दर ७।२६ प्रतिशतमा ओर्लिएको थियो । तर, माघमा फेरि मूल्यवृद्धि दर उकालो चढेको देखिएको छ ।

खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धि १२.३९ प्रतिशत भएको केन्द्रीय ब्यांकले जनाएको छ । खाद्य पदार्थको मूल्यवृद्धि दर उच्च हुँदा न्यून आय भएका समूह थप मर्कामा पर्छन् ।

युक्रेन रुस युद्धपछि गत वर्षदेखि नै अन्तर्राष्ट्रिय बजारमा खाद्यान्न, गेडागुडी, तेल आदिको मूल्य बढेको छ । यसको प्रभावस्वरुप नेपाली बजारमा पनि खाद्यवस्तुको भाउ उकालो चढेको हो । करीब एक चौथाई विपन्न नागरिकको आम्दानीको ठूलो हिस्सा खाद्यवस्तुको खरीदमा सकिन्छ। यसको मूल्य बढ्दा ती समूह सोझै प्रभावित हुन्छन् ।

केन्द्रीय ब्यांकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ ।