दोलखा — दोलखा उद्योग वाणिज्य संघको आगामी १६औँ अधिवेशनमा अध्यक्ष पदका लागि व्यवसायी दिनेश पाठकले उम्मेदवारी घोषणा गरेका छन्। “नयाँ सोच, नयाँ जोश, अध्यक्षमा हाम्रो भरोसा” भन्ने नारासहित उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको प्रतिबद्धतामा व्यवसायमैत्री नीति तथा वातावरण निर्माण, सदस्य सेवा सुदृढीकरण, सीप विकास तथा तालिम, बजारीकरण र प्रवर्द्धन, साथै पूर्वाधार तथा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।
उम्मेदवार पाठकले स्थानीय उद्योग तथा व्यापार प्रवर्द्धनका लागि स्थानीय सरकारसँग सहकार्य गर्दै व्यवसायीमैत्री वातावरण निर्माणमा जोड दिने बताएका छन्। त्यस्तै, युवालाई उद्यमशीलतामा आकर्षित गर्न व्यावसायिक तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गर्ने योजना समेत अघि सारेका छन्।
उनले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन बजारीकरण र प्रवर्द्धनमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै व्यापारिक पूर्वाधार, यातायात तथा डिजिटल पहुँच विस्तारमा समेत काम गर्ने उनको योजना रहेको पोस्टरमा उल्लेख छ।
“सबल संस्था, सफल व्यवसाय, समृद्ध दोलखा” भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका पाठकले सम्पूर्ण व्यवसायी तथा सदस्यहरूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन आग्रह गरेका छन्।
दोलखा उद्योग वाणिज्य संघको अधिवेशन वैशाख ३१ गते हुने तय गरिएको छ।
प्रतिक्रिया