images

मुलुकको विषम परिस्थितिका कारण २०८२ सालको पूर्व निर्धारित भैरव पुरस्कार अर्पण कार्यक्रम हाललाई स्थगित

काठमाडौ, भदौ २७ । मुलुकको विषम परिस्थितिका कारण २०८२ सालको पूर्व निर्धारित भैरव पुरस्कार अर्पण कार्यक्रम हाललाई स्थगित गरिएको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेले शुक्रवार एक विज्ञप्ति जारी गर्दै आगामी असोज तीन गतेका लागि तय गरिएको भैरव पुरस्कार अर्पण कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिनु भएको हो । मुलुकको स्थिति सहज भएपछि उपयुक्त मितिमा पुरस्कार अर्पण गरिने विज्ञप्तीमा उल्लेख छ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले आगामी असोज तीनमा तीन विशिष्ट स्रष्टाहरूलाई समर्पण गर्ने घोषणा गरेको थियो । जसअनुसार १ लाख ११ हजार १ सय ११ रुपैया राशि रहेको २०८२ सालको भैरव पुरस्कार भारत—सिलगुढी निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई, त्यस्तै १ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई र ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गर्ने घोषणा गुठीले गरेको थियो । पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहनु भएको चयन समिति  गठन गरेको थियो ।

शुक्रबार​ २७ भदौ २०८२ ०१:५९ PM मा प्रकाशित

प्रतिक्रिया