एमालेका सबै पदाधिकारी सर्वसम्मत

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् । उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो । अध्यक्ष पदमा मनोयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी निर्विरोध निर्वाचित भएका हुन् । निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैशी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति थिए । अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिँदा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि बिस्ट सर्वसम्मत भएकी हुन । यस अघि आजै सचिवमा रतन रेग्मी फिर्ता लिँदा चन्द र अशोक चन्द फिर्ता लिँदा बिक सर्वसम्मत भएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि निर्वाचन प्रक्रिया लम्ब्याएर मंगलबारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए । विभिन्न पदमा आकांक्षा राखेका उम्मेदवारहरूलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासनसहित उम्मेदवारी फिर्ता गराइएको स्रोतले बतायो । अन्तिम समयमा नेता भीम रावल निकट मानिएका अध्यक्ष पदका उम्मेदवार भरत साउदले उपसचिवमा आफू निकट नरबहादुर विकका नाममा सहमति खोजेका थिए । नेताहरूले विकका नाममा सहमति गरेपछि सबै पदाधिकारी सर्वसम्मत चयन हुने अवस्था आएको हो ।