रासायनिक मल कारखाना अध्ययन गर्न जर्मनी कम्पनी डायग इन्ड्रष्ट्रिज जीएमबीएचलाई जिम्मा !

काठमाडौँ - नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने जिम्मा जर्मनी कम्पनी डायग इन्ड्रष्ट्रिज जीएमबीएचलाई दिइएको छ ।

बिहीबार लगानी बोर्ड, नेपाल र जर्मनी कम्पनीबीच यससम्बन्धी समझदारी भएको हो ।

समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरेका हुन् । सार्वजनिक–निजी साझेदारी अबधारण अनुसार जर्मनी कम्पनीले अध्ययनको जिम्मा पाएको हो ।

कम्पनीले गरेको प्रस्तावका आधारमा बोर्डको २०७८ चैत्र १७ गते बसेको ५० औं बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । साथै, प्रस्तावकसँग गरिने समझदारीपत्र को मस्यौदा २०७९ चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३ औं बैठकबाट स्वीकृत भएको थियो । समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक डायगले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर बोर्डसमक्ष पेस गर्नुपर्ने छ ।

कम्पनीले प्राकृतिक ग्यास, इलेक्ट्रोलाइसिस वा हाइब्रिड प्रविधिमध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल युरिया उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि ७ सय १४ मिलियन अमेरिकी डलर अर्थात् करिब ९३ अर्ब रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान रहेको बोर्डले जनाएको छ ।