images

अधिकारको अभावमा औद्योगिक विकासमा कठिनाइ भयो स् मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पर्याप्त अधिकार नहुँदा औद्योगिक र उद्यमशीलता विकासको काम गर्न समस्या भएको बताएका छन् । उनले आर्थिक विकासमा महत्वपूर्ण स्थान ओगटेको औद्योगिक क्षेत्र तथा उद्योगका अधिकांश अधिकारहरु प्रदेशमा प्राप्त हुन नसेकको बताएका हुन् । मंगलबार हेटौँडामा भएको ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममा मुख्यमन्त्री लामाले उद्योग तथा वाणिज्य र आर्थिक विकास र उद्यमशीलताका क्षेत्रका अधिकांश अधिकार संघ सरकार मातहत रहेकाले प्रदेश सरकारलाई काम गर्न कठिन भएको बताए ।  उनले भने, ‘उद्योग क्षेत्र र उद्यमशीलताका लागि काम गर्न पनि संघीय सरकारको स्वीकृति लिएर गर्नुपर्ने बाध्यता रहेको छ । नयाँ क्षेत्रमा काम गर्न लगानी पनि बढी गर्नुपर्ने भएकाले सीमित स्रोतको परिचालनले सम्भव छैन ।’ मुख्यमन्त्री लामाले हेटौँडा सिमेन्ट उद्योग र कपडा उद्योगको स्वामित्व प्रदेश सरकारले पाए नाफा आर्जन गर्ने दावी गरे । केही समयअघि संघीय सरकारसँग सिमेन्ट उद्योग र कपडा उद्योगको स्वामित्व प्रदेश सरकारलाई दिन माग समेत गरिएको उनले बताए ।  केन्द्रिकृत मानसिकता हावी हुँदा संघ सरकारले सो उद्योगहरुको स्वामित्व दिन नचाहेको उनले बताए । ‘पुँजीको अभावमा सरकारको स्वामित्वका उद्योग रुग्ण अवस्थामा पुगेको छ । त्यो विषयमा संघीय सरकारले खासै काम गर्न सकेको देखिँदैन । स्थानीयस्तरमै उपलब्ध जनशक्ति र स्रोतको प्रयोग गरेर उद्योगलाई नाफामा लैजान सक्ने क्षमता प्रदेश सरकारसँग छ । तर, अधिकार छैन’, मुख्यमन्त्री लामाले भने, ‘हेटौँडा सिमेन्ट उद्योग प्रदेश सरकारलाई दिने हो भने २ वर्षमा नै नाफामा जान सक्छ । हामीले सो विषयमा अध्ययन अनुगमन पनि गरेका छौं । प्रत्येक वर्ष नाफा नै नाफा हुने गरी सञ्चालन गर्ने ग्यारेन्टी प्रदेशले गर्न सक्छ । संघले सो विषयको अधिकार दिनुपर्यो ।’ मुख्यमन्त्री लामाले स्थानीयस्तरकै उत्पादन प्रयोग गर्ने नीति ल्याएर कपडा उद्योगलाई पनि नयाँ ढंगले सञ्चालन गर्न सकिने बताए । युवा पलायनलाई रोक्ने योजना बनाउन प्रदेश सरकार क्रियाशील रहेको उनको भनाई छ । विज्ञान र प्रविधिसँग जोडिएको योजनालाई प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकता दिने उनले बताए ।
 

बिहीबार २ जेठ २०८२ ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया