ओसाका, जापान । ओसाकास्थित नेपाली सामाजिक 'संस्था ब्लु ब्वाइज युनियन’ ले आगामी अगस्ट २४, २०२६ (सोमबार) विविध कार्यक्रमसहित आफ्नो प्रथम महाधिवेशन तथा दोस्रो वार्षिकोत्सव समारोह आयोजना गर्ने भएको छ।
संस्थाका सचिव प्रदीप खड्काका अनुसार समारोहमा प्रथम महाधिवेशन तथा दोस्रो वार्षिकोत्सवसँगै सांस्कृतिक प्रस्तुति, संस्थालाई आर्थिक तथा अन्य सहयोग पुर्याउने सहयोगी दाताहरूलाई सम्मान, नयाँ सदस्य प्रवेश तथा संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ।
संस्थाका अध्यक्ष वासुदेव लामिछानेले स्थापना भएको दुई वर्षको अवधिमा ‘ब्लु ब्वाइज युनियन’ले अपेक्षाअनुसार विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सफल भएको बताउनुभयो। उहाँले नयाँ नेतृत्व चयनसँगै आगामी दिनमा पनि जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै सामाजिक, सांस्कृतिक तथा जनहितका विभिन्न कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य रहेको जानकारी दिनुभयो।
अध्यक्ष लामिछानेका अनुसार, कान्साई क्षेत्रमा क्रियाशील विभिन्न नेपाली सामाजिक संघ–संस्थाहरूलाई कार्यक्रमका लागि निमन्त्रणापत्र पठाइसकिएको छ। कुनै कारणवश निमन्त्रणापत्र प्राप्त नभएको भए यसै समाचारलाई औपचारिक निमन्त्रणाका रूपमा ग्रहण गरी कार्यक्रममा उपस्थित भई समारोहको गरिमा बढाइदिन सम्पूर्ण संघ–संस्था, शुभेच्छुक तथा नेपाली समुदायमा अनुरोध गरिएको छ।
प्रतिक्रिया