images

नाडा अटोमोबाइल्सले अटो क्षेत्रलाई सामान्य बनाउन सरकारसँग सहयोगको आग्रह

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने कार्यमा आवश्यक सहयोग र सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै नाडाले हालै देशव्यापी आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो असर पारेको उल्लेख गर्दै सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गरेको छ।नाडाले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति संवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।विज्ञप्तिमा हालको परिस्थितिले उपभोक्ता विश्वासमा नकारात्मक असर पु¥याएको र दीर्घकालीन रुपमा लगानी तथा रोजगारीमा चुनौती थपिएको उल्लेख छ। शान्तिपूर्ण संवाद र सहमतिको बाटोमार्फत हरेक कठिनाइ समाधान गर्न सकिने विश्वास पनि नाडाले व्यक्त गरेको छ ।नेपालको अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएको बताउँदै नाडाले कर्मचारी, ग्राहक तथा सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता जनाएको छ ।सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गर्दै नाडाले एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक संवादमार्फत मुलुक चाँडै स्थायित्वतर्फ अघि बढ्ने विश्वास लिएको जनाएको छ ।
 

सोमबार ३० भदौ २०८२ ०६:३४ PM मा प्रकाशित

प्रतिक्रिया