images

बनेन कालिगण्डकीको पुल, ठेकेदार सम्पर्क विहीन

ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण मुस्ताङको कालिगण्डकी नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । पाँच वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । समयमै पुल निर्माण नहुँदा करिब ६०० जनसङ्ख्या प्रभावित भएका छन् । कुुञ्जोतर्फको पिल्लर काली गण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ । डिजाइनको समस्याले दुई वर्ष रोकिएको  पुल निर्माणको काम सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । पुल निर्माणका लागि पटक पटक ठेकेदारलाई ताकेता गर्दा पनि अटेर गरेको कार्यालयले जनाएको छ । कुञ्जोको ताकलुङका बासिन्दा धिरेन्द्र विकले कालीगण्डकीमा मोटरे बल पुल नहुँदा लेते–कुञ्जो सडकमा बर्खामा सवारी साधन आवतजावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको बताउनुभयो ।  “पाँच वर्षअघिनै निर्माण सकिनुपर्ने पुल अझै अधुरो छ,” उहाँले भन्नुभयो “स्थानीयबासीलाई आवत जावतमा असुविधाका साथै आलु लगायत गाउँमा उत्पादन भएको कृषि उपज निकासीमा समस्या भएको छ ।” मन्त्रालय मातहतको पूर्वाधार विकास निर्देशनालयका निर्देशक डा. महेन्द्र बानियाँलाई फोन गरी  पुल निर्माणमा भएको ढिलाइ, बाढी र कटानका कारण सिर्जना भएको निर्माणाधीन पुलको पिल्लर संरक्षण लागि गर्न सकिने पहलका विषयमा मन्त्री जुग्जालीले जानकारी लिनुभएको थियो । एलआरडिपीका विज्ञहरूको टोलीले सो पुलको निरीक्षण गरेको र टोलीको सुझावको आधारमा जोखिम न्यूनीकरण तथा पुल संरक्षणको काम गर्ने र पुल निर्माणलाई गति दिन आवश्यक प्रक्रिया अगाडी बढाउने तयारी भएको निर्देशक बानियाँले बताउनुभयो । 

आइतबार​ ३ मंसिर २०८० १०:१२ AM मा प्रकाशित

प्रतिक्रिया