काठमाण्डौँ - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बिहीवार पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । मंगलवारदेखि शुरू भएको बैठकमा नेताहरूले धारणा राख्नेक्रम जारी छ ।
बुधवारको बैठकमा पनि नेताहरूले धारणा राखेका थिए । बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, सांगठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि छलफल भइरहेको छ ।
बुधवारको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेका र धारणा राख्नेक्रम बिहीवार पनि जारी रहने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।