नेपाली नर्सलाई बेलायतमा रोजगारी, एक वर्षमै साढे ५८ लाख रुपैयाँसम्म तलब

काठमाडौँ - नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा एक सय जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।

नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो ।

नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत वर्ष भदौ महिनामा दुई देशबीच सम्झौता भएको थियो। दुई देशबीच सम्झौता भएको झण्डै एक वर्षपछि नर्सहरु रोजगारीका लागि बेलायत जान आवेदन खुलेको हो । बेलायत जान इच्छुक नेपाली नर्सले साउन ४ गतेदेखि अक्टोवर १९ सम्ममा  अनलाइन आवेदन दिन पाउनेछन्।

सम्झौतापत्र अनुसार न्यूनतम पिसिएल नर्सिङ अध्ययन पुरा गरेकादेखि नर्सिङमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका सबैले आवेदन दिन पाउने छन्।

सम्झौतापत्र अनुसार रोजगारीका लागि बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६।५ अङ्क ल्याउनुपर्ने हुन्छ ।

त्यस्तै, कम्तीमा साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउनेछन् ।

नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने सम्झौतापत्रमा उल्लेख छ ।