टोकियो, जापान — दोलखा समाज जापानको आयोजनामा अक्षयकोष सहयोगार्थ ‘नेपाली नयाँ वर्ष शुभकामना साँझ २०८३’ कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम आगामी ५ अप्रिल २०२६ आइतबारका दिन कोसेली रेस्टुरेन्ट, कानागावा योकोहामामा सम्पन्न हुने जनाइएको छ।
समाजले नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागेको उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायक सूर्य खड्का र गायिका ज्योति लोहोनीको विशेष सांगीतिक प्रस्तुति रहनेछ। समाजका अध्यक्ष संजिव पोखरेलका अनुसार कार्यक्रममार्फत अक्षयकोषका लागि सहयोग संकलन गर्नुका साथै जापानमा रहेका नेपालीबीच आपसी सद्भाव, सांस्कृतिक आदान–प्रदान र एकता सुदृढ गर्ने उद्देश्य रहेको छ।
कार्यक्रममा स्थानीय नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। साथै आयोजकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्न तथा अक्षयकोष सहयोग अभियानमा साथ दिनका लागि समाजका महासचिव अनुप खडकाले आग्रह गरेका छन।
प्रतिक्रिया