कर्णालीका ६७ प्रतिशत जनसंख्यामा उर्जाको पहुँच

सुर्खेत - कर्णाली प्रदेश भरी ६७ प्रतिशत नागरिकहरु उर्जाको पहुँचमा रहेको तथ्यांक सार्वजानिक भएको छ। भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्रालयले सार्वजानिक गरेको तथ्यांक अनुसार कर्णालीमा विद्युत उत्पादन क्षमता १८ हजार मेगावाट रहेकोमा अहिले यहाँका ६७ प्रतिशत नागरिकको घरमा उर्जाको पहुँच पुगेको हो।

कर्णालीमा अहिले ऊर्जा उत्पादनको अवस्था ८.२५ मेगावाट मात्र रहेको छ। पञ्च बर्षीया प्रक्षेपन अनुसार ९० प्रतिशत जनसंख्यामा उर्जाको पहुँच पुग्ने लक्ष्य राखिएकोमा छ। २०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको समेत समेटिएको छ।

दैलेखमा रहेको द्धारीखोला जलविद्युत आयोजनाको ३.७५ उत्पादन सुरु भएको छ। जगदुल्ला हाईड्रो पावर कम्पनीमा कर्णाली प्रदेश सरकारको शेयर लगानीसमेत गरिसकेको छ।

दैलेखको चामुण्डा विन्दाशैनी ठाँटिकाँध ग्रामिण विद्युतिकरण वहुवर्षीय आयोजना विद्युत प्राधिकरणसँग सम्झौतामा कार्यान्वयन प्रारम्भ गर्ने गरी २२ करोडमा काम गरिरहेको मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारको तर्फबाट १० प्रतिशत लागत साझेदारी हुने गरी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट संचालन हुने जाजरकोट जिल्लाका जुनी सौर्य मिनिग्रिड आयोजना (३५ किलोवाट), कुशे ठाँटिकाँध सौर्य मिनिग्रिड आयोजना १६० किलोवाट र नलगाड नगरपालिका ८ मसिरी सौर्य मिनिग्रिड आयोजना १८ किलोवाट कार्यान्वयनमा रहेका छन्।

९ हजार ३५९ मेगावाटका ५५ वटा विद्युत उत्पादन क्षमता भएका आयोजनाहरु स्वीकृत भएर पाइप लाइनमा रहेको मन्त्रालयका महाशाखा प्रमुख गोपाल शर्माले जानकारी दिए।

प्रदेशबाट अहिले ४२ वटा योजनाहरु चालु अवस्थामा रहेका छन् । प्रदेश सरकारले मात्र ९ हजार ४६३ घरधुरीमा ऊर्जाको पहुँच पुर्‍याएको छ। कर्णालीका डोल्पा , हुम्ला , मुगु , जुम्ला र कालिकोट जस्ता हिमाली पाँच जिल्लामा सोलार मिनिग्रेटको अध्ययन गरी निर्माण सुरु गर्ने लक्ष्य समेत राखिएको छ।