images

नेपाल–जापान सम्बन्धको ७० औं वर्षमा ओसाकामा विशेष सांस्कृतिक कार्यक्रम हुने

नेपाल–जापान । ओसाका, जापान नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। गोर्खा दक्षिण बाहुबाट सम्मानित जापानी गायिका मिका ताकागीले उक्त कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएकी हुन्।
“वि कमिङ्ग वान फ्यामिली— एउटै परिवार बन्ने दिन” नाम दिइएको कार्यक्रम मे ३, २०२६ आइतबार ओसाकास्थित ओउतेन इन मन्दिरमा निःशुल्क रूपमा आयोजना हुने बताइएको छ। कार्यक्रमको उद्देश्य नेपाल–जापानबीचको ऐतिहासिक मित्रतालाई अझ सुदृढ बनाउनु रहेको छ।
सन् २००४ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट गोर्खा दक्षिण बाहु पदकबाट विभूषित ताकागीले यसअघि ५० औं वार्षिकोत्सव पनि सफलतापूर्वक आयोजना गरिसकेकी छन्।
कार्यक्रममा नेपाली र जापानी कलाकारहरूको संयुक्त सांगीतिक प्रस्तुति, “बागमती रिभर” नामक पुरस्कारप्राप्त लघु चलचित्र प्रदर्शन तथा नेपाली संस्कृति र पारिवारिक मूल्यमाथि अन्तर्क्रिया गरिनेछ।
कार्यक्रम ब्लान्का मोन्टिनोको मुख्य प्रायोजनमा आयोजना हुन लागेको हो। उक्त संस्थाले नेपालका महिलाहरूले उत्पादन गरेका फेल्ट सामग्री जापानमा प्रवर्द्धन गर्दै रोजगारी सिर्जना र दुई देशबीचको सम्बन्ध सुदृढ गर्न सहयोग गर्दै आएको छ।
गायिका ताकागीले “नेपाल र जापानबीचको सम्बन्ध ७० वर्षमा एउटा परिवारजस्तै बनेको छ, यस कार्यक्रममार्फत त्यस आत्मीयतालाई उत्सवका रूपमा मनाउन चाहन्छु,” बताइन्।

आइतबार​ १३ बैशाख २०८३ ०६:१९ PM मा प्रकाशित

प्रतिक्रिया