ओसाका, जापान ।
जापानमा बसोबास गर्ने विदेशी समुदायलाई सुरक्षित, पारदर्शी र भरपर्दो आवास सेवा उपलब्ध गराउने उद्देश्यका साथ औरा होम्सले सोमबार ओसाकामा नेपाली धर्म–संस्कृतिअनुसार वैदिक विधिबाट पूजा–आराधना सम्पन्न गर्दै आफ्नो सेवा सञ्चालनको औपचारिक शुभारम्भ गरेको छ। नेपाली परम्पराअनुसार शुभ–साइतमा पूजा–पाठ गरी रिबन काटेर उद्घाटन गरिएको कार्यक्रममा जापानी तथा नेपाली समुदायका व्यवसायी, समाजसेवी, साझेदार संस्था, रियल स्टेट कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै औरा होम्सका संस्थापक विकास अधिकारीले आफ्नो व्यक्तिगत संघर्ष र अनुभवबाट जन्मिएको सपना आज साकार भएको बताए। जापानमा पहिलो पटक आउँदा भाषा, कागजी प्रक्रिया तथा उपयुक्त आवास खोज्ने क्रममा भोग्नुपरेका कठिनाइहरूले नै आफूलाई यस्तो संस्था स्थापना गर्न प्रेरित गरेको उनले बताए। उनले भने, “रियल एस्टेट क्षेत्रमा पाँच वर्षभन्दा बढी काम गर्ने क्रममा सयौँ विदेशी नागरिकका समस्या नजिकबाट बुझ्ने अवसर पाएँ। विदेशी समुदायले कम झन्झट, बढी आत्मविश्वास र सही मार्गदर्शनका साथ उपयुक्त घर प्राप्त गर्न सकून् भन्ने उद्देश्यले औरा होम्स स्थापना गरेको हुँ।”
अधिकारीले औरा होम्स केवल घर खोजिदिने संस्था मात्र नभई जापानी रियल स्टेट व्यवस्थापन कम्पनी र विदेशी समुदायबीच विश्वासको पुल निर्माण गर्ने संस्थाका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कम्पनीले घर तथा अपार्टमेन्ट खोजी, भाडा सम्झौता प्रक्रिया, बसाइँसराइसम्बन्धी सहयोग, रियल स्टेटसम्बन्धी परामर्श तथा बहुभाषिक सेवा उपलब्ध गराउने जनाएको छ। समारोहमा सहभागी अतिथिहरूले जापानमा विदेशी समुदायका लागि जिम्मेवार, व्यावसायिक र विश्वासिलो आवास सेवाको आवश्यकता औँल्याउँदै औरा होम्सको सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा संस्थापक बिकाश अधिकारीले परिवार, साथीभाइ, शुभेच्छुक, साझेदार संस्था तथा सम्पूर्ण सेवाग्राहीप्रति आभार व्यक्त गर्दै “तपाईंको घर, तपाईंको आत्मीयता” भन्ने मूल भावनालाई व्यवहारमा उतार्दै दीर्घकालसम्म विश्वास जित्ने संस्था निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया