images

नागोयामा ‘नेपाल फेस्टिवल एवं एक्सपो–२०२६’ को तयारी तीव्र, मे अन्त्यदेखि सुरु हुने

नागोया, जापान — जापानको नागोया शहरमा आयोजना हुन लागेको ‘नेपाल फेस्टिवल एवं एक्सपो–२०२६’ को तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा मे ३०, ३१ र जुन १ तारिखमा चौथो संस्करणको फेस्टिवल हिसाया ओदोरी पार्कमा सञ्चालन हुने भएको हो।

एनआरएनए नागोयाका संयोजक योमन देवानका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। उनले नेपाल र नेपालीको पहिचानलाई जापानी समुदायमा परिचित गराउने उद्देश्यले आयोजना गरिएको फेस्टिवलमा सबै नेपालीलाई सहभागी हुन आग्रह गरेका छन्।

निवर्तमान संयोजक तथा मूल आयोजक समिति संयोजक भेषनाथ गौतमले फेस्टिवलमार्फत नेपाली कला, संस्कृति, रहनसहन तथा पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकलाई जानकारी गराउने लक्ष्य रहेको बताए। उनका अनुसार कार्यक्रममा नेपालका ग्रामीण जीवनमा प्रयोग हुने ढिकी, जातो लगायत परम्परागत सामग्रीहरू समेत प्रदर्शन गरिनेछ।

आयोजकका अनुसार यसपटकको फेस्टिवल ‘हाइटेक’ प्रविधियुक्त हुनेछ। ठूलो स्क्रिनमार्फत कार्यक्रमका गतिविधि प्रत्यक्ष अवलोकन गर्न सकिनेछ भने नेपालको संस्कृति र पर्यटनसम्बन्धी भिडियो सामग्री पनि प्रदर्शन गरिनेछ।

फेस्टिवलमा जापान स्थित राजदुतावासका राजदूत, आइची प्रिफेक्चरका गभर्नर, नागोया सिटीका मेयर लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। साथै जापान र बाहिरबाट एनआरएनए अभियन्ताहरूको समेत उल्लेख्य सहभागिता रहने आर्थिक संयोजक दिपक कार्कीले जानकारी दिए। फेस्टिवलबाट बचत हुने रकम नागोयामा निर्माण गरिने ‘नेपाली घर’ परियोजनामा सहयोग गरिने योजना रहेको उनले बताए।

सांस्कृतिक संयोजक सोनाम दोर्जे शेर्पाका अनुसार कार्यक्रममा नेपाली लोक बाजा, पञ्चेबाजा, विभिन्न झाँकी तथा किराँत, तामाङ, मगर लगायतका जनजातीय नृत्यहरू प्रस्तुत गरिनेछन्। जापानमै रहेका नेपाली कलाकारहरूको प्रस्तुति पनि आकर्षणको केन्द्र रहनेछ।

नेपाली दूतावास टोकियोको सहयोग तथा जापानस्थित विभिन्न संघ–संस्थाहरू, आइची प्रिफेक्चर र नागोया सिटीको सहकार्यमा आयोजना हुन लागेको फेस्टिवलका लागि खानाका स्टलहरू बुकिङ भइसकेका छन् भने अन्य स्टलहरूको बुकिङ जारी रहेको स्टल व्यवस्थापन संयोजक सिपी भुषालले जानकारी दिए।

कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ। ठूलो संख्यामा दर्शक तथा सहभागीको अपेक्षा गरिएको यस फेस्टिवलले जापानमा नेपाली समुदायको पहिचान अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

मङ्गलबार १५ बैशाख २०८३ ०२:०८ PM मा प्रकाशित

प्रतिक्रिया