भवानी भट्ट / टोकियो सुदूरपश्चिम प्रदेशको बझाङबाट अन्तर्राष्ट्रिय फाइटिङको मञ्चमा उदाएका नेपाली युवा खेलाडी रवीन्द्र ढाँटले नेपाली खेलकुदमा नयाँ इतिहास रचेका छन्।
‘रोड टु यूएफसी सिजन–५’ को बान्टमवेट विधाको फाइनलमा प्रवेश गरेसँगै रवीन्द्र प्रतिष्ठित यूएफसीमा पुग्ने ऐतिहासिक यात्राको अन्तिम चरणमा पुगेका छन्। चीनको सांघाईस्थित ओरिएन्टल स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको सेमिफाइनल भिडन्तमा रवीन्द्रले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मोर्डोकलाई तीन राउण्डको प्रतिस्पर्धामा स्प्लिट डिसिजनमार्फत पराजित गरे। रवीन्द्रको यो जितसँगै उनी ‘रोड टु यूएफसी’ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। अब उपाधिका लागि उनको सामना जापानका रियो ताजिमासँग हुनेछ। ताजिमाले पनि सेमिफाइनलमा भारतका चुङग्रेङ कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन्।
‘रोड टु यूएफसी’ एसियाका उत्कृष्ट मिश्रित मार्सल आर्ट्स खेलाडीलाई यूएफसी मा प्रवेश गर्ने अवसर दिने महत्वपूर्ण प्रतियोगिता हो। त्यसैले रवीन्द्रका लागि आगामी फाइनल केवल एउटा खेल होइन, विश्वकै प्रतिष्ठित एमएमए संस्था यूएफसीमा प्रवेश गर्ने निर्णायक ढोका हो। बझाङको सामान्य परिवेशबाट खेल क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका रवीन्द्रले निरन्तरको मेहनत, अनुशासन र संघर्षबाट आफूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेका हुन्।
उनको पछिल्लो सफलताले बझाङ र सुदूरपश्चिम मात्र होइन, सिंगो नेपाललाई गौरवान्वित बनाएको छ। यसअघि पनि रवीन्द्रले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रभावशाली प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। हरेक प्रतिस्पर्धासँगै उनको नाम नेपाली एमएमएको सीमाभन्दा बाहिर पुग्दै गएको छ। अहिले भने उनको अगाडि एउटा ठूलो अवसर छ फाइनल जितेर यूएफसी’ को ढोका खोल्ने।
जितको खुसीसँगै देशको पीडामा
रवीन्द्र हिजो रिङमा ऐतिहासिक जित हासिल गरेको खुसीकै बीच रवीन्द्रले नेपालमा भइरहेको विपत्तिलाई पनि सम्झिएका छन्।अकल्पनीय विनाशकारी बाढीका कारण देशमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले बाढीपीडित परिवारप्रति सहानुभूति प्रकट गरेका छन्। उनले यस्तो कठिन परिस्थितिमा देश तथा विदेशमा रहेका नेपालीहरूलाई आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न र विपत्तिमा परेका नागरिकको साथमा उभिन आग्रह गरेका छन्। देशको नाम विश्वको रिङमा उचालिरहेका रवीन्द्रले देश संकटमा परेका बेला दिएको यो अपिलले खेलाडीको परिचयसँगै उनको नेपाली मन र देशप्रतिको जिम्मेवारी पनि देखाएको छ।
बझाङबाट सुरु भएको एउटा युवाको सपना अहिले विश्वको ठूलो फाइटिङ मञ्चसम्म पुगेको छ। रवीन्द्रको अगाडि अब अन्तिम भिडन्त छ, तर उनको पछाडि सिंगो नेपालको आशा र शुभकामना छ।
बझाङका रवीन्द्र ढाँटलाई फाइनलका लागि हार्दिक शुभकामना।
जय होस।