images

चुनावी तयारीकै बीच आयोगभित्र युवाको विरोध, लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न

काठमाडौं । निर्वाचनको औपचारिक तयारी तीव्र बन्दै गएको समयमा निर्वाचन आयोग परिसरभित्रै युवाहरूको विरोध प्रदर्शनले लोकतान्त्रिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।सोमबार साँझ आफूलाई जेनजी समूहको रूपमा चिनाउने केही युवाहरूले आयोगको सुरक्षा घेरा तोड्दै प्रवेश गरी चुनाव रोक्न माग गर्दै नाराबाजी गरेका थिए ।राजनीतिक दलहरू समानुपातिक उम्मेदवारहरूको बन्द सूची बुझाइरहेका बेला भएको प्रदर्शनले युवा पुस्ताको गहिरिँदो असन्तुष्टि उजागर गरेको हो ।प्रदर्शनकारीहरूले जेनजी आन्दोलनका क्रममा भएका दमन र हत्याका घटनामा दोषीमाथि कारबाही नभएसम्म चुनाव स्वीकार्य नहुने दाबी गर्दै आएका छन् ।उनीहरूले बन्द कोठाभित्र राजनीतिक सहमति गरेर चुनावमा जाने निर्णयलाई आन्दोलनमाथिको धोका भएको बताएका छन् ।राजनीतिक दलहरू समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउन व्यस्त रहेका बेला आयोगभित्र पुगेका युवाहरूले ‘चुनाव धोका हो’, ‘निर्वाचन प्रक्रिया बन्द गर’ र ‘हत्यारालाई कारबाही गर’ जस्ता नारा लगाएका थिए ।प्रदर्शनकारीहरूले ‘जेन–जीका माग पूरा गर’, ‘नालायक सरकार मुर्दावाद’ र ‘सुशिला कार्की राजीनामा दे’ जस्ता नारा लगाउँदै अन्तरिम सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए ।प्रदर्शनमा सहभागी एक युवाले रवि लामिछाने र बालेन साहबीच भएको भनिएको सहमति प्रति असन्तुष्टि व्यक्त गर्दै बन्द कोठाभित्र सहमति गरेर चुनावमा जाने निर्णयलाई आन्दोलनमाथिको धोका भएको बताए ।‘बन्द कोठाभित्र स्टाटस लेखेर युवाहरूको साथ हामीसँग छ भन्ने रु आज तिमीहरू नयाँ गठबन्धनका नाममा चुनावमा जाने कुरा गरिरहेका छौ, यो आन्दोलनमाथिको धोका हो । हामी खबरदार भन्न चाहन्छौं,’ उनले भने ।निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्द सूची बुझाउन सोमबारसम्मको समयसीमा तोकेको थियो ।

मङ्गलबार १५ पुस २०८२ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया