images

एमालेको ११ औं महाधिवेशनका लागि सर्लाहीबाट २२ प्रतिनिधि चयन

सर्लाही । नेकपा (एमाले) को ११औं केन्द्रीय महाधिवेशनमा मतदान अधिकारसहित सहभागी हुन सर्लाहीबाट २२ जना प्रतिनिधि सर्वसम्मतरूपमा चयन भएका छन् ।मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य र पूर्व रक्षा मन्त्री हरिप्रसाद उप्रेतीको नेतृत्वमा केन्द्रीय सदस्य कमलादेवी महतो, रन्जना सरकार, कल्पना कुमारी कटुवाल र जिल्ला अध्यक्ष राजनारायण साह सहित पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो।७४ जनाले उम्मेदवारी दिएकोमा सहमतिमै प्रतिनिधि टुंगो लगाउने निर्णयपछि सो कार्यदलले प्रतिनिधिहरूको नाम सार्वजनिक गरेको हो। कार्यदलले चारै क्षेत्रका खुल्ला, महिला, युवा तथा दलित कोटालाई समेटेर सूची टुंगो लगाएको जनाएको छ।चयन भएका प्रतिनिधिहरूमा खुल्लातर्फ मनोज कुमार देवकोटा, प्रकाश थापा, माधव सरकार, राज नारायण साह, जय प्रकाश यादव, विदुर कुमार प्याकुरेल, गणेश प्रसाद प्रसाई, रेवती रमण पन्त, माधव प्रसाद कोईराला र जयलाल सहनी छन्।महिला तर्फ एकावती देवी चौधरी, शान्ती कुमारी लामा, राधिका खतिवडा, रेणु पासवान, सरिता घिसिङ, सारदा कुमारी उप्रेती र लालवती देवी राय चयन भएका छन्। युवातर्फ उज्वल कुमार कार्की, रौनित साह, मोहन बहादुर रेग्मी र रवि शंकर सिंह कुशवाहा रहेका छन् भने दलित तर्फबाट रामचन्द्र चमार चयन भएका छन्।प्रतिनिधि छनोट प्रत्यक्ष निर्वाचनबाट होइन, सहमतिका आधारमा गरिएको एमाले सर्लाहीले जनाएको छ। यसअघि मंसिर ११ गते उम्मेदवारी दर्ता भए पनि कार्यकर्ताहरूले सहमतिमार्फत नाम टुंगो लगाउन सुझाव दिएपछि कार्यदलमार्फत सूची तय गरिएको हो।स्रोतका अनुसार महाधिवेशनमा पार्टी अध्यक्षका लागि वर्तमान अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आकांक्षी रहेका छन्। सर्लाहीमा ओली पक्षको पकड पोखरेल समूहभन्दा बलियो रहेको बताइएको छ।
 

सोमबार १५ मंसिर २०८२ १२:१२ PM मा प्रकाशित

प्रतिक्रिया