काठमाडौं । पोखरा अन्तरराष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् ।पहिलो खेल बंगलादेश र भारत बीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ भने दोस्रो खेल घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग खेल्ने छ ।नेपाल र भूटान दुवैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुवै टोली दबाबमा हुनेछन् । फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ । बंगलादेश र भारतले भने एक÷एक खेल जितेर समान तीन अकं जोडेका छन् ।प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन् । प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया