images

वर्तमान विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विगतको तुलनामा यसपटकको निर्वाचन अभियानमा बढी व्यवस्थित र ऊर्जावान रूपमा अघि बढेको बताएका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले निर्वाचन अभियानको प्रभाव परिणाममा देखिने दाबी गरे । उनले पार्टीभित्र देखिएको ऊर्जा, बढेको जागरण र कांग्रेसप्रति बढ्दो जनविश्वासले सकारात्मक संकेत प्राप्त गरेको उल्लेख गरे ।
उनले उम्मेदवारी दर्तापछिका पछिल्ला दिनहरूमा वडा तहदेखि पालिका तह हुँदै केन्द्रीय नेतृत्वसम्म अन्य दलका हजारौँ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेको बताए । यसले पार्टीप्रतिको आकर्षण र विश्वास बढेको संकेत गर्ने उनले बताए ।
उनले भने, ‘यो निर्वाचनको अभियानको क्रममा नेपाली कांग्रेस पार्टीले विगतको भन्दा तुलनात्मक रुपले आफूलाई व्यवस्थित ढंगले अगाडि सारेको छ । त्यसको प्रभाव निर्वाचनको परिणामका रुपमा देखिने छ । नेपाली कांग्रेस पार्टीमा देखिएको उर्जा, बढेको जागर, नेपाली कांग्रेसप्रति बढीरहेको विश्वास र उम्मेदवारी दर्तापछिको पछिल्लो दिनहरुमा मात्रै नेपाली कांग्रेस पार्टीमा वडा तहदेखि,पालिका तहदेखि केन्द्रीय नेतृत्वसम्ममा रहेको अन्य पार्टीका साथिहरु हजारौं संख्यामा कांग्रेस प्रवेश गरेका छन् ।’
उपसभापति शर्माले वर्तमान विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग रहेको जिकिर गरे । ‘चुनावमा कसले जित्ने भन्ने मात्र मूल प्रश्न होइन, कसले देशको परिस्थितिलाई सम्हाल्न सक्छ भन्ने महत्वपूर्ण हो,’ उनले भने, ‘सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ ।’
साथै उनले सबै राजनीतिक दलहरूलाई निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सहयोग गर्न आग्रह गरे ।

सोमबार १८ फागुन २०८२ ०८:३७ PM मा प्रकाशित

प्रतिक्रिया