काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउन नवनियुक्त अर्थमन्त्री डा। प्रकाशशरण महतलाई सुझाव दिएको छ ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा महतलाई भेटर मुलुकको अर्थतन्त्रको अवस्थाबारे ब्रिफ्रिङ गरेको महासंघको टोलीले तरलता प्रवाह गरेर ब्याजदर घटाउन सुझाव दिएको हो ।
भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनुपर्ने सुझाव दिएको जानकारी दिए । यसका लागि केन्द्रीय बैंक र सरकारको संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उनको सुझाव छ ।
अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्राउन दाताहरुसँग पहल गर्नुपर्ने बताउँदै स्थानीय दाताहरुसँग पनि सम्मेलन गर्न आग्रह गरेका छन् । सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम अघि बढाउन र महासंघको टोलीले सरकारी खर्च निक्कै सुस्त रहेकाले त्यसलाई बढाउन सुझाव दिएको छ ।