इन्दिरा खनाल
जापान सरकारले सामाजिक सुरक्षा प्रणालीअन्तर्गत पर्ने ‘स्याकाई होक्केन’ लाई अनिवार्य बनाएसँगै यहाँ बसोबास गर्ने नेपालीहरूका लागि भिसा नवीकरण तथा कानुनी प्रक्रियामा कडाइ बढाएको छ। नियम पालना नगरेको अवस्थामा भिसा नवीकरणमा समस्या आउन सक्ने भएकाले सचेत रहन विज्ञहरूले सुझाव दिएका छन्।
यसै सन्दर्भमा अर्घाखाँची समाज जापानले आइतबार एक अनलाइन सेमिनार आयोजना गरी स्याकाई होक्केन तथा भिसासम्बन्धी आवश्यक जानकारी प्रदान गरेको छ।
सेमिनारमा सामाजिक बिमा तथा श्रम विज्ञ केइको ओनोले स्याकाई होक्केनमा आवद्ध हुनु व्यक्ती र परिवार दुवैका लागि सुरक्षित रहेको बताइन्। उनले काम गर्ने क्रममा बिरामी भई काममा जान नसक्ने अवस्थामा ६ महिनाभन्दा बढी समयदेखि आवद्ध व्यक्तिले करिब डेढ वर्षसम्म ६६.५ प्रतिशत तलब पाउने सुविधा रहेको जानकारी दिइन्।
त्यस्तै, गर्भवती महिलाले सुत्केरी हुनुभन्दा ४२ दिनअघि र जन्मपछि ५६ दिनसम्म पनि उक्त सुविधा उपयोग गर्न सक्ने व्यवस्था रहेको उनले स्पष्ट पारिन्। ओनोका अनुसार स्याकाई होक्केनमा सामाजिक बिमा र पेन्सन दुवै समावेश हुने भएकाले दीर्घकालीन रूपमा निकै फाइदाजनक छ। नियमित रूपमा योगदान गर्ने व्यक्तिले ६५ वर्षपछि पेन्सन पाउने र नेपाल फर्किएपछि पनि उक्त रकम प्राप्त गर्न सकिने व्यवस्था रहेको उनले बताइन्।
यसैगरी, आप्रवासन वकिल तथा भिसा कन्सल्टेन्ट मासाकाजु कोन्दोले जापान सरकारले हाल विदेशीहरूको भिसा प्रक्रियामा कडाइ गरेको जानकारी दिए। उनका अनुसार पहिले सामान्य रूपमा हेरिने कागजातहरू अहिले गहिराइका साथ जाँच गरिन थालेका छन्, जसका कारण साना त्रुटिहरूले पनि समस्या निम्त्याउन सक्छ।
उनले पूर्ण भिसा नवीकरणको सट्टा कतिपय अवस्थामा ३० दिनको छोटो अवधिको भिसा दिने गरिएको उल्लेख गर्दै आवेदनअघि सबै कागजात सावधानीपूर्वक स्वयंले जाँच गर्न सुझाव दिए।
कोन्दोका अनुसार अघिल्लो र हालको आवेदनबीच कागजातमा फरक परेमा भिसा नवीकरण नहुने जोखिम रहन्छ। साथै, स्थायी बसोबास (एजुकेन) र नागरिकता प्रक्रियामा पनि कडाइ बढाइएको छ। वार्षिक आम्दानी, कर तिरेको अवस्था र आपराधिक गतिविधिमा संलग्नता भए/नभएको विषयलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए।
सेमिनारमा लामो समयदेखि जापानमा रही विदेशी नागरिकका भाषा तथा कानुनी समस्यामा सहजीकरण गर्दै आएका राजन पन्तले विज्ञहरूको भनाइ नेपालीमा अनुवाद गरेका थिए। उनले जापानमा दीर्घकालीन बसाइका लागि सरकारी नियमको पालना र जापानी भाषा सीपमा निरन्तर सुधार आवश्यक रहेको बताए।
कार्यक्रममा ३५ जना सहभागी थिए। समाजका सल्लाहकार डा. विष्णु खनालले पछिल्लो समय नियम परिवर्तनसँगै विदेशीहरूको व्यवसायिक भिसा नवीकरणमा समेत चुनौती बढेको बताए।
समाजका अध्यक्ष टोपबहादुर घर्ती मगरको अध्यक्षता, उपाध्यक्ष अर्जुन आचार्यको स्वागत मन्तव्य तथा महासचिव अबिनास जिसीको सञ्चालनमा सेमिनार सम्पन्न भएको थियो।