images

रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने

रौतहट । रौतहटका कृषकलाई समयमा सहज तरिकाले रासायनिक मल उपलव्ध गराउन किसान कार्डको व्यवस्था लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको अध्यक्षतामा बसेको सो बैठकले सो निर्णय गरेको हो । मल वितरण र कृषि कार्यको सहजीकरणका लागि किसानको नाम, ठेगाना, कृषि बालीको क्षेत्रफल लगायत विवरण समावेश भएको किसान कार्ड लागू गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ खड्काले बताए । उनका अनुसार  बैठकले मलको कालोबजारी, जम्माखोरी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्ने निर्णय  गरेको छ  । रासायनिक मलको अभाव र कालोबजारीका कारण किसानहरूले समयमै मल प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएको पछि बैठक बसेको हो । रासायनिक मलको माग र आपूर्तिको विस्तृत विवरण १५ दिनभित्र तयार गर्ने, मलको कृत्रिम अभाव रोक्न  संयुक्त अनुगमनलाई तीव्रता दिने , रासायनिक मलको तोकिएको मूल्यभन्दा बढीमा बिक्री र सहकारी संस्थाबाहेक अन्य निकायबाट हुने वितरणलाई पूर्णरूपमा निरुत्साहित गर्ने र किसान कार्ड लागु गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन फाँट प्रमुख रामनरेश साहले जानकारी दिए । बैठकमा सुरक्षा निकायका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि,  जिल्ला कृषि ज्ञान केन्द्रका प्रतिनिधि र किसान अगुवा सहित सम्बन्धित सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
 

शुक्रबार​ ३० साउन २०८२ ११:१० AM मा प्रकाशित

प्रतिक्रिया